नेपाली वाङ्मयको उन्नयनमा समको अतुलनीय योगदान

0
Shares

काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२०औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ ।

प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समले कविता, नाटक, कथालगायतका विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाली वाङ्मयका प्रायः सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको छ तर विशेष गरी नाटकका क्षेत्रमा समको योगदान अतुलनीय छ ।’

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’का बारेमा चर्चा गर्दै सम पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्रप्रति आकर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बालकृष्ण सम राणा वंशमा जन्मिए तापनि प्रजातन्त्र, न्याय र समानताका साथै देश र जनताप्रति सधैँ चिन्तित रहेको पाइन्छ ।’ उहाँले सम नाटक, कवितालगायतका विधाका विशिष्ट साधक हुनुका साथै चित्रकारिता र अभिनयका क्षेत्रमा पनि उत्तिकै विशिष्ट रहेको विचार व्यक्त गर्नुभयो ।

प्रा.डा.हेमनाथ पौडेलले स्वागत मन्तव्यका साथै कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो । पौडेलले सम बहुमुखी प्रतिभाका धनी भएको बताउँदै नाटक लेखन, कविता लेखनका साथै नाटक निर्देशन र अभिनयमा समेत समको विशिष्ट योगदान रहेको उल्लेख गर्नुभयो । डा. देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंशहरूको वाचन गर्नुभएको थियो । नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले नेपाली साहित्यका विशिष्ट साधक बालकृष्ण समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताउनुभयो ।

कार्यक्रम शुरू हुनुअघि कमलपोखरी र प्रज्ञा परिसरमा अवस्थित बालकृष्ण समको प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धा अर्पण गरिएको थियो । कार्यक्रमको सहजीरकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।