श्रृङ्खलाबद्ध ठगीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ



न्युज अफ नेपाल, कपिलवस्तु ।

प्रहरीले आफूलाई भेडीगोठ बाख्रा फार्म प्रालि चित्लाङ मकवानपुर, कामधेनुगाई फार्म प्रालि खैरेनीपुर चितवन लगायत अन्य विभिन्न फर्मको सञ्चालक रहेको भन्दै ठगी कार्यमा संलग्न एकजनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा प्युठान तोरवाङ गाउँपालिका–६ घर भई हाल झिमरुक गाउँपालिका–६ तोरवाङ बस्ने ५० वर्षीय ईश्वरी प्रसाद पोख्रेल छन् ।

शिवराज नगरपालिका–५ स्थित चेक प्वाइन्टमा वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको प्रहरीले उनलाई वाग्मती प्रदेश ०१–०२६ च ४००१ नम्बरको कारसहित पक्राउ गरेको हो ।उनले कपिलवस्तु नगरपालिका–१ मालटोलस्थित केजिएन मार्ट पसलमा ०७८ आसार १८ गते ५० हजार बराबरको किराना र कस्मेटिक लगायतको सामान किनेका थिए ।कपिलवस्तु बिजयनगर गाउँपालिका–४ स्थि गौमुखी फिड इन्डस्ट्रिज एन्ड ट्रेडलिंकको प्रोपाइटर भनी उक्त सामान खरिद गरे वापत दिनुपर्ने रकम माछापुच्छ्रे बैंकबाट भुक्तानी पाउनेगरी चेक दिई गएकोमा सो चेक माछापुच्छ्रे बैंक तौलिहवा शाखामा क्लियरिङ गराउँदा निजको खातामा रकम नभएको पाइएपछि ठगी मुद्दा दर्ता भई अनुसन्धान भएको थियो ।

उनीविरुद्ध यसअघिसमेत विभिन्न मितिमा सार्वजनिक ऐन अन्तर्गतको मुद्दा, ठगी एवं बैंकिङ कसूरजन्य मुद्दा दर्ता भई अनुसन्धान भएको थियो । अनुसन्धानको क्रममा उनले विभिन्न मितिमा दाङ राप्ती गाउँपालिका–२ मा साइन्स कलेज स्थापना गर्ने भनेर करिब १ करोड भन्दा बढी रुपैयाँ, कैलालीको धनगढीस्थित मेडिकल कलेज खोल्ने भन्दै लाखौँ रकम लिई ठगी गरेको खुल्न आएको छ ।

साथै उनले पर्सा वीरगञ्जस्थित जगदम्बा सेल्स ट्रेडिङ प्रालिबाट ४७ लाख रुपैयाँ बाराबरको रडहरू, भैरहवाको शिद्धार्थ हार्डवेयरबाट २३ लाख रुपैयाँ बराबरको हार्डवेयर सामग्री, चितवन टाडीस्थित रिजाल फुड एन्ड विभरेज प्रालिबाट २८ लाख रुपैयाँ बराबरको सामान, नवलपरासीस्थित समृद्धि स्टिल कम्पनीबाट २५ लाख बराबरको सामानहरू लगेको खुलेको छ ।

यसबाहेक प्युठान सिमेन्ट कारखानाबाट २० लाख रुपैयाँ बराबरको सामान, गोल्छा अर्गनाइजेसनबाट ३० लाख रुपैयाँ बराबरको सामग्रीहरू र काठमाडौं टेकुस्थित निर्मणी मेसिनरी सप्लायर्सबाट १ लाख २७ हजार रुपैयाँ बराबरको विभिन्न मेसिनरी सामानहरू लिई सबै ठाउँमा विभिन्न बैंकको खाताबाट भुक्तानी हुने गरी रकम नभएको चेक दिई फरार रहेका अनुसन्धानबाट खुल्न आएको छ ।उनले प्रोपराइटर भएको भनि बताएका फर्महरू भौतिक रूपमा स्थापना र सञ्चालनमा समेत नरहेका खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्