मन्त्री रेग्मीद्वारा भृकुटीमण्डप क्षेत्रको निरीक्षण, भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी


न्युज अफ नेपाल, काठमाडौं ।

भृकुटीमण्डप क्षेत्र लाई व्यवस्थित गर्न सरकार द्रुत गतिमा अघि बढेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री  उमा रेग्मीले बताउनुभएको छ।  मंगलबार भृकुटीमण्डप क्षेत्रको निरीक्षण गर्नुहुँदै मन्त्री  रेग्मीले बिचौलिया मार्फत हुने कारोबार रद्द गरेर सोझै परिषद् मार्फत नै भाडा सम्झौता हुने  व्यवस्था मिलाउन लागिएको बताउनुभयो।

समाज कल्याण परिषद् अध्यक्ष समेत रहनुभएका मन्त्री रेग्मीले अव्यवस्थित रूपमा रहेका घर टहरा, तरकारी बजार, फन पार्कको उचित व्यवस्थापनका साथै खाली रहेका जग्गा जमिनलाई उपयोग गर्ने रणनीति समेत बनाएको बताउनुभयो। तरकारी बजार, फन पार्क, होटल लगायतमा उचित व्यवस्थापन छैन भन्ने गुनासो आएको थियो, आफ्नै आँखाले छर्लङ्ग देखे, उहाँले भन्नुभयो अब छिट्टै नतिजा देख्नु हुनेछ ।

कतिपय संस्थाले लामो समय सम्म पनि भाडा नतिरेको बताउनु हुदैं मन्त्री  रेग्मीले पैसा नतिर्ने अटेर गरी बस्ने , जग्गाको दुरुपयोग गर्ने र अनियमित किसिमले अधिग्रहण गर्नेलाई कारबाही गरिने समेत बताउनुभयो।   भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने उहाँको योजना छ । मन्त्री  रेग्मीले भृकुटीमण्डप क्षेत्रको टुकुचा , खसी बजार, फन पार्क हंकंग बजार, प्रदर्शनी स्थल लगायतको निरीक्षण  गर्नुभएको हो।