‘राजनीतिका खेलाडी’ थापाले छाडे पार्टी


राेसन पराजुली, हेटौँडा,  ।

‘राजावादी’ का रूपमा छवि बनाउनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले गृह नगर आएर पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

मंगलबार हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै थापाले भन्नुभयो–पार्टीसँगको ३१ वर्ष लामो सम्बन्ध टुट्न गएको छ । आजबाट म राप्रपाबाट अलग भएको छु । ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक पार्टीभित्र बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि मेरो कुराको सुनवाइ हुने नभएपछि म यस्तो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

राप्रपामा रहँदा बिताएका क्षणहरू प्रति म सदैव गौरव गरिरहने छु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु,’ उहाँले भन्नुभयो । पार्टी परित्याग गर्नुभएका थापाले नयाँ पार्टी खोल्ने सङ्केत भने गर्नुभयो । तत्काल आफू पार्टीबाट अलग हुने तर पछि सबैको सल्लाहमा के गर्न सकिन्छ, त्यही गर्ने उहाँले बताउनुभयो ।पार्टीभित्र निरीह, लाचार र अपमानित भएर बस्न नसकिने भन्दै उहाँले नयाँ यात्राका लागि कार्यकर्तालाई साथ सहयोग गर्न आग्रहसमेत गर्नुभयो । थापाले यसलाई एउटा अवसरका रूपमा र नियतिकै चाहना ठान्दै केही समय कठिन र चुनौतीपूर्ण रहे पनि यात्राले चाँडो गन्तव्यमा पु¥याउने आत्मविश्वासरहित नयाँ यात्रामा लाग्ने बताउनुभयो ।

यो यात्रा साधारण यात्रा होइन । यो यात्रा राप्रपाको विभाजन होइन । यो यात्रा नितान्त नवीन विचारका आधारमा हुनेछ । यसैले यो नवीन विचारधारा जान जो मन वचनले प्रतिबद्ध हुनुहुन्छ, यस्ता साथीहरूलाई म आग्रह गर्न चाहन्छु । जसलाई ममाथि भरोसा छैन, यस पटक म कसैलाई करकाप गर्दिनँ । अन्तर आत्मालाई सोध्नुस्,’ थापाले इमान र विवेकलाई दाँज्न र ठिक लागे आफूलाई साथ दिन आग्रह गर्नुभयो ।
उहाँले अबको नयाँ यात्रामा विगतका कमीकमजोरी सच्याएर अगाडि बढ्ने बताउनुभयो । स्थानीय तहको चुनाव नजिक आइसकेकाले अब सोच्ने समय धेरै नभएको भन्दै उहाँले सोचेर निर्णय दिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टीमा निर्वाचनका क्रममा निर्मल निवासका सचिवहरूले पार्टीका शीर्ष नेताहरूले जिल्ला तहसम्मका नेताहरूलाई महाराज धिराजको चाहना यस पटक थापालाई हराउने छ भन्दै प्रचारप्रसार र लोभ लालच देखाउने काम भयो । यसले हारजितलाई कति प्रभाव प¥यो थाहा छैन,’ पार्टी छाड्दै गर्दा थापाले भन्नुभयो–नियोजित ढंगबाट महाधिवेशनमा ४ सय भन्दा बढी मत बदर भए । निर्मल निवासलाई आफूले चुनावभन्दा माथि उठेको संस्थाका रूपमा हेर्दै आएकोमा हाल त्यो सोच परिवर्तन भएको थापाको तर्क रह्यो । तर, निर्मल निवासको पार्टीमा हस्तक्षेप साधारण कुरा हैन । ‘निर्मल निवास केवल एक नागरिकको बसोबास गर्ने घर हैन ।

त्यसलाई हामीले राजसंस्थाको सचिवालयका रूपमा हेरेका थियौँ,’ उहाँले भन्नुभयो–हामीले परिकल्पना गरेको राजसंस्था अभिभावक चुनावीभन्दा माथि उठेको माओवादीसम्मलाई चित्त बुझ्ने सेरेमोनियल राजा हुनुपर्छ भनेर हामीले वकालत ग¥यौं । यस विपरीत निर्मल निवास सक्रिय भएर हस्तक्षेप हुनु साधारण हैन । ‘हामीले परिकल्पना गरेको राजा त्यस्तो हैन,’ थापाले प्रश्न गर्नुभयो–भोलि राजसंस्था पुनर्स्थापना भयो भने कुनै पार्टीमाथि हस्तक्षेप हुँदैन भनेर कसरी विश्वास गर्ने रु राजतन्त्र पुनर्स्थापनाको मुद्दा लिएर चुनावहरूमा होमिने थापाले भन्नुभयो–यो हस्तक्षेप व्यक्तिगतमा कमल थापालाई हराउन मात्र हैन । राप्रपालाई कमजोर बनाउन राप्रपालाई जनमण्डलीका रुपमामात्र परिणत गराउन खोजिएको छ ।

राप्रपा निर्मल निवासको रिमोट कन्ट्रोलबाट चलोस् भन्ने चाहन्छ रु,’ प्रश्न गर्दै थापाले भन्नुभयो–३१ वर्षे इतिहासमा आन्तरिक मामिलामा राजा वीरेन्द्र र ज्ञानेन्द्रबाट हस्तक्षेप भएको थिएन । २०७३ सालबाट पटक पटक हस्तक्षेप सुरु भयो । हामीले पार्टी मिलाउँदा २०७३ सालमा ६ महिनामै पार्टी फुट्यो ।राप्रपालाई राजनीतिक पार्टी भन्दा पनि राजसंस्था पुनर्स्थापना गर्ने भजन मण्डली समिति बनाउन लागिएको उहाँले दाबी गर्नुभयो । करिब ६६ वर्षीय उहाँले आफ्नो राजनीतिक जीवनको करिब ३१ वर्ष राप्रपामा बिताएका बताउनुभयो । एक कुशल ‘राजनीतिक खेलाडी’ मानिने उहाँ अप्रत्याशितता पार्टी केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि तत्कालीन राजा ज्ञानेन्द्रले आफूमाथि अन्याय गरेको आरोप लगाउनुभएको थियो ।

एकता महाधिवेशनमा पूर्वराज शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित गराएको भन्दै असन्तुष्ट रहँदै आउनुभएका थापा आफूले राखेका मागमा छानबिन नभएमा विकल्प खोज्ने चेतावनी दिनुभएको थियो ।१५–१८ मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापालाई हराउँदै लिङ्देन विजयी हुनुभएको थियो । आफू पराजित भएपछि थापाले ‘पूर्वराजाले राप्रपामा हस्तक्षेप गरेको’ सार्वजनिक आरोप लगाउँदै आउनुभएको छ । थापाले उक्त विषयमा छानबिन गर्न मंसिर र माघमा गरी दुई पटक अध्यक्षलाई पत्र लेखिसक्नुभएको छ । थापाले पहिलो पटक २७ मंसिर र दोस्रो पटक १६ माघमा अध्यक्ष लिङ्देनलाई पत्र लेखेर औपचारिक आग्रह गर्नुभएको थियो ।

थापा विचार मिल्ने नमिल्ने सबै दलको सरकारमा सहभागी हुनुभएको छ । मन्त्री हुनका लागि मरिहत्ते गर्ने उहाँको यस्तो प्रवृत्ति स्थानीय मतदाताले मन पराएनन् । र, संसदीय निर्वाचनमा मकवानपुर–१ मा नेकपा एमालेका कृष्णप्रसाद दाहालले उहाँलाई लगातार हराइरहनुभएको छ ।उहाँ शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री, लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा १२ चैत २०५३ देखि २१ असोज २०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्र मन्त्री, सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज २०५४ देखि २७ असोज २०५४ सम्म परराष्ट्र र कृषि मन्त्री, सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा १८ मंसिर २०५४ देखि २ वैशाख २०५५ सम्म परराष्ट्र मन्त्री, २८ जेठ २०६० देखि २८ जेठ २०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री, तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर २०६२ देखि १९ माघ २०६३ सम्म गृहमन्त्री, केपी ओली नेतृत्वको सरकारमा २५ असोज २०७२ देखि २० साउन २०७३ सम्म उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकास मन्त्री, पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन २०७३ देखि २२ चैत २०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री र देउवा नेतृत्वको सरकारमा २८ असोज २०७४ मा उपप्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

परित्याग गर्नु दुर्भाग्यपूर्ण

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय अध्यक्ष लिङ्देनले थापाले पार्टी परित्याग गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । थापाले राप्रपा परित्याग गर्नु अनपेक्षित र दुर्भाग्यपूर्ण भएको उहाँले बताउनुभयो । थापाको विषयमा पार्टीको शीर्ष तहमा छलफल भइरहेको र सल्लाह÷सुझावका आधारमा समाधानका उपाय खोज्ने प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित भएको लिङ्देनको भनाइ छ ।