म्याग्दीमा ‘अप्रेसन थिएटर’ लगिएकी महिलाको पर्वत अस्पतालमा बच्चा

0
Shares

पर्वत ।

शल्यक्रियामार्फत पेटबाट बच्चा निकाल्नका लागि बेनी अस्पताल म्याग्दीको ‘अप्रेसन थिएटर’ मा लगिएकी एक महिलाको पर्वत अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालिएको छ । म्याग्दीमा बत्तीको समस्या भएपछि ‘थिएटर’ निकालेर पर्वत अस्पतालमा ल्याई शल्यक्रिया गरिएको हो ।

म्यादीको मालिका गाउँपालिका–४ ओखरबोट घर भएकी २१ वर्षीया तोरन पटेलको पर्वत अस्पतालमा शुक्रबार राति आपत्कालीन अवस्थामा सफल शल्यक्रिया गरियो । २४ घण्टादेखि सुत्केरी व्यथाले च्यापेपछि तोरनलाई शुक्रबार साँझ नै बेनी अस्पतालमा शल्यक्रियाको तयारी थालिएको थियो । शल्यक्रियाका लागि सबै तयारी पूरा भएपछि उनलाई ‘अप्रेसन थिएटर’ मा लगियो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु शल्यक्रियाको अन्तिम तयारी गर्दै थिए । तर, दुर्भाग्य ‘अप्रेसन थिएटर’ मा बिरामीको घाउमा ‘फोकस’ दिएर बल्ने विद्युत् ‘परिपथ’मा समस्या आयो । बत्तीकै कारण तोरनको शल्यक्रिया गर्न सक्ने अवस्था रहेन । ‘अप्रेसन गर्ने भनेर उनलाई भित्र अप्रेसन कोठामा लगिएको थियो । तर, पावर सट भएर हो कि के भएर हो बत्ती नै बलेनछ । धेरै प्रयास गर्दा पनि बत्ती बलेन,’ तोरनका श्रीमान् ताराप्रसाद रसाइलीले भन्नुभयो– ‘त्यहाँका डक्टरहरुले बागलुङ र पर्वतका डक्टरहरुसँग कुरा गरेर तोरनलाई तुरुन्तै पर्वत लिएर अप्रेशन गर्ने भनेपछि यहाँ ल्याएर राति नै अप्रेशन गरियो ।’

शल्यक्रियाको नेतृत्व गरेका पर्वतका अस्पतालका एमडीजीपी डा. डीबी क्षेत्रीका अनुसार म्याग्दीका चिकित्सक तथा अस्पताल प्रशासनले बागलुङ लगेर शल्यक्रिया गराउन चाँजोपाँजो मिलाउन खोजेको भए पनि धौलागिरि अस्पताल बागलुङमा शय्या भरिएका कारण पर्वतमा शल्यक्रिया गराउन सुझाव मिलेपछि बेनी अस्पतालले तोरनको शल्यक्रियाका लागि पर्वत अस्पताल पठाएको हो । ‘विद्युत् मर्मत गरेर शल्यक्रिया गर्ने भनेर म्याग्दीको प्राविधिक टिम एक घण्टासम्म लड्दा पनि नबनेपछि बागलुङमा सम्पर्क भएको रहेछ । त्यहाँ प्याक भएपछि हामीकहाँ पठाउनुभयो र हामीले राति नै सफल शल्यक्रिया गरेका छौं’, डा. क्षेत्रीले भन्नुभयो– ‘आमालाई पछिल्लो २४ घण्टादेखि व्यथाले च्यापेको रहेछ । बच्चाको मुटुको धड्कन तीव्र बन्दै गएको अवस्था रहेका कारण जतिसक्दो चाँडो शल्यक्रिया गर्नुपर्ने अवस्था थियो । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

पर्वतका अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले म्याग्दी र पर्वतमा कार्यरत चिकित्सकहरूको आपसी सञ्चार र मैत्रीपूर्ण वातावरणका कारण बिरामीले जटिल अवस्थाको सामना गर्नु नपरेको बताउनुहुन्छ । केही दिनदेखि परिरहेको लगातारको झरीका कारण पर्वत अस्पतालको ‘अपरेसन थिएटर’ मा प्रयोग गरिने कपडासमेत निर्मलीकरण गर्न नपाएको अवस्थामा त्यस्ता ‘एप्रोन’ समेत बेनी अस्पतालले बिरामीसँगै पठाएर थप मानवीयता देखाएको उहाँको भनाइ छ ।