गुल्मीमा आलोपालो सेवा शुरू

0
Shares

गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले आइतबारबाट स्थानीय तहगतमा आलोपालो सेवा शुरु गरेको छ । गत माघ ११ गते कर्मचारीमा कोरोना संक्रमण देखिएर बन्द रहेको प्रशासनले स्थानीय तहगत आलोपालो सेवा शुरु गरेको हो ।

प्रशासनले सेवाग्रहीमा समेत कोरोना संक्रमणको उच्च जोखिम रहेकाले अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो । आइतबार र सोमबार रूरूक्षेत्र गाउँपालिका, सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिका नागरिकले सेवा पाउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । त्यस्तै, मंगलबार र बुधबार मुसिकोट नगरपालिका, मालिका, मदाने र इस्मा गाउँपालिकाका नागरिकले सेवा पाउने छन् । बिहीबार र शुक्रबार रेसुंगा नगरपालिका, गुल्मीदरबार, धुर्कोट र छत्रकोट गाउँपालिकाका नागरिकले सेवा पाउने उहाँको कथन छ ।

पालोअनुसार स्थानीय तहका नागरिकले नागरिकतासम्बन्धी सेवा लिन पाउने प्रशासनले जनाएको छ । राहदानी र राष्ट्रिय परिचयपत्रको विवरण दर्तासम्बन्धी कार्य अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द रहने प्रशासनले जनाएको छ । राष्ट्रिय परिचयपत्रको विवरण दर्तासम्बन्धी अनिवार्य बनाउनुपर्ने आवश्यकता भएमा सेवाग्राहीले आवश्यकताका कारण र आधारसमेत खोली निवेदन दिएमा विवरण दर्ता गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे बताउनुहुन्छ ।

मतदाता नामावलीको विवरण संकलन कार्यका लागि जिल्ला निर्वाचन आयोगको कार्यालयमा सम्पर्क राख्नसमेत सेवाग्रहीलाई उहाँले आग्रह गर्नुभउको छ । सेवा लिन आउँदा खोपकार्ड अनिवार्य गरिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना अनिवार्य गरिएको अधिकारी बताउनुहुन्छ ।