सडक खुलाउन हिउँ पन्छाउने काम तीव्र

0
Shares

मुगु ।

चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी सडक खण्ड खुलाउने प्रयास जारी रहेको छ । शुक्रबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडक खण्डको भुलभुले, घुच्ची लेक हुँदै पिना गाउँसम्म पुग्ने सडक अवरुद्ध भएको छ ।

यहाँ करिब तीन फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउन जेसीभीसहित प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताउनुभयो । पुसमा परेको हिमपातले पनि नाग्म–गमगढी सडक बन्द भएको थियो । त्यस बेला पनि डोजर लगाएर बाटो खुलाइएको थियो । ‘यसपटक पनि डोजर परिचालन गरिएको छ । मंगलबारसम्ममा सडक खुल्छ’, उहाँ भन्नुहुन्छ– ‘हिमपात हुन नछोडेकाले हिउँ पन्छाउन समस्या भएको हो ।’

यो सडक खण्ड हिउँदमा हिमपात र वर्षामा पानीले अवरुद्ध हुँदै आएको छ । २०६९ पुस १ मा मुगु सडक सञ्जालमा जोडिए पनि हालसम्म सडकको स्तरोउन्नति नहुँदा वर्षको चार महिना मात्रै सवारी सहजरूपमा चल्ने गरेको छ । सडक बनेको लामो समय भइसक्दा पनि सडकका न्यूनतम मापदण्ड ग्राभेल, नाला, ढल, कल्भडको व्यवस्था नहँुदा पटक–पटक सडक अवरुद्ध हुने गरेको स्थानीयको दुःखेसो छ ।

हरेक वर्ष आठ महिना सडक बन्द हुँदा उपभोग्य सामग्री समेत अभाव हुने गरेको व्यापारीहरू बताउँछन् । साथै सडकको नाममा हुने राजनीतिक खिचातानीले व्यापारी, सर्वसाधारण मर्कामा पर्दै आएका छन् । सडक बन्द हुँदा स्थानीय तहका विकास निर्माणका कामसमेत प्रभावित हुने गरेका छन् । स्थानीय तहका पुल, पुलेसा बत्तीका सामान ढुवानीमा समस्या हुने गरेको स्थानीय रतनबहादुर बम बताउनुहुन्छ ।