कर्मचारीबाट सरकारी पोशाकको दुरुपयोग !

0
Shares

मुगु ।

सरकारी कर्मचारीले नै पोशाकको दुरुपयोग गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारीले जिल्लामा रहेका केही सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा यस्तो भेटिएको हो ।

जिल्ला अस्पताल तथा पशु सेवा विकास कार्यालय, जिल्ला अस्पताल ठिनी, जिला आयुर्वेद कार्यालयमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको टोलीले अनुगमन गरेको थियो । कार्यालयहरूमा पुग्दा प्रमुखदेखि अन्य सहायक कर्मचारीहरूले पनि सरकारबाट उपलब्ध गराएका पोशाक नलगाएर अरू पोशाकमा कार्यालयमा भेटिएका हुन् । निजामती कर्मचारीको पहिचान र सेवामा थप बल पुग्र्ने हिसाबले तलबभत्ताबाहेक एक जना कर्मचारीलाई थप वार्षिक १५ हजारका दरले सरकारले पोशाक खर्च दिँदै आएको छ ।

सरकारी पोशाक नलगाउनुको कारण सोद्धा जिल्ला अस्पतालमा स्थायी कर्मचारीभन्दा अन्य अस्थायी कर्मचारी बढी भएकाले अस्थायीलाई पोशाक नदिइएको, मौसम परिवर्तनका कारण चिसो हुने भएकाले कर्मचारीले पोशाक नलगाएको जवाफ दिने गरेको जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख उमेश गौतम बताउनुहुन्छ ।

‘केही कर्मचारी कार्यालयमा उपस्थिति नभएको, केही कर्मचारी जिल्लाबाहिर विभिन्न तालिम गोष्ठी र बिदामा गएको भेटिएपछि कर्मचारी हाजिर चेक गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा ढड्डा ल्याएका छौं’, उहाँ भन्नुहुन्छ– ‘हाजिर नभएका, सरकारी पोशाक नलगाएकालाई लेखितरूपमा स्पष्टीकरण सोध्छौं । चित्तबुझ्दो जवाफ नआए कानुनबमोजिम कारबाही गर्छौं ।’

जिल्ला अस्पतालमा जडान हुदै गरेको अक्सिजन पलान्टको समेत अनुगमन गरिएको प्रजिअ महतले बताउनुभयो ।