हिमपातले स्थानीयलाई सास्ती, पर्यटक उत्साही

0
Shares

जाजरकोट ।

जाजरकोटका उत्तरपश्चिम क्षेत्रका लेकाली भेगमा पुनः हिमपात भएको छ । महिनैपिच्छेको हिमपात र वर्षात्ले चिसो बढेपछि कृषि पेसा र ज्यालामजदुरी गरी छाक टार्ने नागरिकको जनजीवन कष्टकर भएको हो ।

लेकामा हिउँ परे बालीनाली सप्रन्छ भन्दै खुसी हुने कृषक पनि पटक–पटकको हिमपातले दिक्क भएका छन् । ‘मंसिर र पुसको हिमपातले मात्र फलफूल, हिउँदेबाली सप्रन्छ’, कुशे गाउँपालिका–५ पाँचकाटियाका कर्णबहादुर थापा भन्नुहुन्छ– ‘तर, माघमा बाली सप्रिसकेको हुनाले हिउँले बालीलाई असर गर्छे ।’ हिउँ परेका बेला चिसो हुने, घरबाहिर निस्कन नसक्ने, बालबालिका र वृद्धवृद्धालाई जोगाउन गाह्रो हुने गरेको उहाँ दुःखेसो पोख्नुहुन्छ ।

भारी हिमपात भएपछि नागरिकको दैनिक जीवन प्रभावित भएको छ । जाजरकोटका कुशे, बारेकोट, जुनीचाँदे गाउँपालिकाका विभिन्न बस्तीमा, लेकाली भेगका पैक, पाँचकाटिया, समाइला बारेकोटको रामीडाँडा, रोकायागाउँ, नायकबाडा लगायतका गाउँबस्तीमा हिमापात भएको छ । डाँडाकाँडामा करिब तीन फिटसम्म हिउँ परेको भेरी नगरपालिका–४ का रत्नराज हमाल बताउनुहुन्छ ।

गत मंसिर पुसमा दुईपटक हिमपात भएको थियो । यति बेला तल्लो बस्तीमै बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर भए पनि पर्यावरणमा निकै राम्रो भएको तर मूलको पानी जमेकाले स्थानीयको दैनिक जीवन कष्टकर बनेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । कृषक, पशुचौपाया, बालबालिका वृद्धवृद्धा, विपन्न समुदायका नागरिक हिमपात हँदा समस्या परेको उहाँको कथन छ ।

त्यसै गरी, कोरोना महामारीले थिलो–थिलो परेका विद्यालय चिसोका कारण केही हप्ता अझै बन्द हुने भएको छ । कहिले कोरोना त कहिले हिमपातले प्रत्यक्ष असर विद्यालयका बालबालिकालाई परेको भेरी नगरपालिका–३ का शिवप्रसाद शर्मा बताउनुहुन्छ ।

मौसम खुले पनि चिसो अत्यधिक बढेकाले स्थानीय चिन्तित छन् भने हिमपातले सेताम्य भएका डाँडाकाँडामा हिउँ खेल्न आउने आन्तरिक पर्यटकको भने भीड लाग्ने गरेको कुशे गाउँपालिका–५ दम्दालाका शिव मल्लले बताउनुभयो । लेकाली भेगमा परेको हिमपातले सदरमुकाम खलंगालगायत गाउँबस्तीमा अत्यधिक चिसो बढेको छ ।