सम्पत्ति शुद्धीकरणको घेरामा भगवती लेमिनेट्स



काठमाडौं ।

भगवती लेमिनेट्स प्रालिका लगानीकर्ताका साथ त्यसमा संलग्न कर्मचारी र डिलरसमेत सम्पति शुद्धिकरण अर्थात् ‘मनी लाउन्डरिङ’ र कर छलीको कारबाहीमा पर्नेभएका छन् । वार्षिक करिब ८० करोड रुपियाँको व्यवसाय लुकाएर त्यसमा लाग्ने कर ठगी गर्न भगवती लेमिनेट्सलाई सघाएबापत उनीहरू कारबाहीमा पर्ने देखिएको हो ।

प्लाइउडको व्यापार गर्ने उद्योग भगवती लेमिनेट्सले नक्कली बिल बनाएर करोडौं राजस्व छलेको प्रमाण नेपाल समाचारपत्रले विगत एक महिनादेखि निरन्तर प्रकाशित गरेपछि राजस्व विभागले उसको केन्द्रीय कार्यालयमा छापा मारेर शंकास्पद कागजात नियन्त्रणमा लिइसकेको छ ।

नेपाल राष्ट्र बैंकले यही माघ १८ गते क वर्गका वाणिज्य बैंकहरूलाई ‘विवरण उपलब्ध गराइदिने सम्बन्धमा’ लेखेको पत्रअनुसार प्रतिकारोबार ७ लाख रुपियाँ वा सोभन्दा बढी नगदमा भएका कारोबारको विवरण हिजो २४ गतेभित्र उपलब्ध गराउन अनुरोध गरिएको छ । तर, वार्षिक ८० करोड रुपियाँको कारोबार गर्ने भगवती लेमिनेट्सको विवरण त्यसमा नसमेटिएको जानकारीमा आएको छ । यसरी नेपाल राष्ट्र बैंकको नजरमा नपर्ने गरी कारोबार गर्ने र गर्न सघाउने सबै कारबाहीको दायरामा पदर्छन् । भगवती लेमिनेट्सका कर्मचारी र डिलरहरूले एकपटकमा ७ लाख रुपियाँको कारोबार नगरेका होलान् तर यी व्यक्ति र डिलरहरूको तीनदेखि पाँच वर्षका बैंक खाता विवरण सम्पत्ति शुद्धीकरण र नेपाल राष्ट्र बैंकले हे¥यो भने मनी लाउन्डरिङ र कर छली गरेको प्रष्ट देखिनेछ ।

नेपाल समाचारपत्रले यसै समाचारका साथ प्रकाशित गरेको नेपाल राष्ट्र बैंकको पत्र, ठगीमा संलग्न व्यक्तिहरूको सूची तथा चेक कारोबारले करको दायरामा नपर्ने गरी लुकाई–छिपाई कारोबार गरेको प्रष्ट हुन्छ । भगवती लेमिनेट्सका डिलरहरू जसले कम्पनीलाई एन्टी मनी लाउन्डरिङ तथा कर छलीका लागि सघाएको आरोप छ ।

यसै गरी भगवती लेमिनेट्सका केही कर्मचारीलाई पनि कम्पनीलाई ठगी गर्न सघाएको आरोप छ । विकास सिंह, देशीय प्रमुख, सुमन भैल र सद्दाम हुसेन, बिक्री प्रतिनिधि तथा कर्मचारी बुद्धि पौडेललाई भगवती लेमिनेट्सलाई ठगीमा सघाएको आरोप छ ।

भगवती लेमिनेट्सले पक्का बिल र कच्चा बिल बनाई कारोबार गर्नेगरेको विस्तृत विवरण यसअघि नै प्रकाशित हुँदैआएको छ । आर्थिक वर्ष २०७७/७८ मा मात्र ८० करोडको व्यापार कच्चा बिलबाट भएको नाम उल्लेख नगर्ने सर्तमा सोही कम्पनीकै पुराना कर्मचारीले नेपाल समाचारपत्रलाई बताएका छन् । कम्पनीले राजस्व तथा कर ठग्ने प्रयोजनले कच्चा र पक्का बिल प्रयोग गर्दछ । ‘पक्का बिल’ न्यून परिमाणको हुन्छ जो संस्थाका नाममा भुक्तानी हुन्छ भने सही अंकको ‘कच्चा बिल’ ले देखाउने फरक रकम ‘सापटी भुक्तानी’ भन्दै डिलरहरूले भुक्तानी गर्दछन् ।

केही डिलरहरूले संस्थागत भुक्तानी गर्नखोज्दा ‘कर कार्यालयसँग डराउनुपर्दैन, एक करोडभन्दा बढी रकम दिएर हामीले कर्मचारीहरूलाई पालेका छौं, सबै बिकाउ छन्’ भन्ने जवाफ दिएर व्यक्तिकै नाममा चेक बनाउन लगाइन्छ ।

नेपालमा नियतवश कर छली गर्ने व्यक्तिविरुद्ध कडा कानुन छ । नक्कली बिल वा अन्डर इनभ्वाइस गरी कर छले ठगिएको रकममा शतप्रतिशत जरिवाना र ६ महिनाको जेल सजाय हुने कानुनी व्यवस्था छ ।

यो पनि पढ्नुहोस् :
भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठग्दै
भगवती लेमिनेट्सको फन्दामा डिलरहरू
भगवती लेमिनेट्सको फन्दामा एकपछि अर्को डिलर
भगवती लेमिनेट्सको कर छली प्रकरण : व्यक्तिगत नाममा चेक काट्ने डिलरविरुद्ध कारबाही हुने
भगवती प्लाइउडमा राजस्वको छापा
डिलरलाई मानसिक तनाव, व्यापार व्यवसाय चौपट
‘भाइलाई नसोध्नु होला तनाव हुन्छ’

प्रतिक्रिया दिनुहोस्