नेवा: साङ्गीतिक कार्यक्रम “सःया जः” हुने


न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुर महानगरपालिका वडा १६ कलाकार समिति र लोकप्रिय कुटुम्ब ब्यान्डको संयुक्त प्रस्तुति साङ्गीतिक कार्यक्रम “सःया जः” अर्थात ‘द लाइट अफ म्यूजिक’ घोषणा गरेको छ । नेवा: परम्परागत तथा आधुनिक संगीत तथा यस क्षेत्रमा समर्पित कलाकारहरूका लागि निर्माण गरिएको यो कार्यक्रम नेपा: च्यानलबाट प्रसारण हुनेछ ।

कार्यक्रम बोल्नुहुँदै समितिका संयोजक सुरजवीर बज्राचार्यले विभिन्न पर्वहरूको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना तथा वडाका नव कलाकारहरूको खोजीका लागि आयोजना गरिएको प्रतियोगिता, उक्त प्रतियोगिताका उत्कृष्ट १० लाई प्रशिक्षण लगायतको कार्यहरू गर्दै आएको १६ वडाको कलाकार समिति साङ्गीतिक क्षेत्रका प्रभावशाली कलाकार व्यक्तित्वहरू तथा कुटुम्ब, प्रोजेक्ट बाजा नेपाल, वाद्यशिरोमणी घराना जस्ता समूहसँग सहकार्य गर्न पाएकोमा अति उत्साहित भएको बताउनु भयो ।

कुटुम्बका सल्लाहकार मंगल महर्जनले संसारको विभिन्न कुनामा साङ्गीतिक प्रस्तुति दिँदै अगाडी बढिरहेको कुटुम्ब साङ्गीतिक समूहको नामैले भनेझैं स्थानीय संगीत एवं संगीतकर्मीका लागि स्थानीय तहसँग मिलेर काम गर्न पाएकोमा खुसी भएको बताउनु भयो ।

कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडा अध्यक्ष निर्मल रत्न शाक्यले नेपा: च्यानलबाट प्रसारण हुने स्थानीय संगीतप्रति समर्पित “सःया जः” मा वादन तथा गायन गायन समावेश हुने जानकारी दिनुभयो । वडाको दीर्घकालीन योजनाका रूपमा यो कार्यक्रम अगाडी बढाउने भन्नुहुँदै वडाले यो बाहेक नव कलाकार उत्पादनका लागि “कला पाठशाला”को थालनी गर्ने समेत जानकारी दिनुभयो ।

वडा १६ ले इन्द्रजात्राको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै कलाकार समितिको घोषणा गरेको थियो भने यस समितिले वडा स्तरीय गायन तथा वादन प्रतियोगिताको आयोजना गरी कलाकार हरको खोजी गरेको थियो । हाल भने गायन तथा नृत्य विधाका उत्कृष्ट १० प्रतिस्पर्धीहरूलाई प्रशिक्षण दिइरहेको छ ।