सिमसारको संरक्षणमा नेपाली सेना

0
Shares

रौतहट ।

पर्यटकीय गन्तव्य बोकेको चन्द्रपुर नगरपालिका–८ मा रहेको सिमसारको सफाइ अभियानमा नेपाली सेना जुटेको छ । जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुरको समन्वयमा सिमसारको सफाइ अभियान थालिएको हो ।

संरक्षणको अभावमा जलकुम्भी झारले ढाकेर कुरूप बनेको सिमसारको सफाइमा नेपाली सेनाले निरन्तर कार्य गर्दै आइरहेको छ । नेपाली सेनाको वीरदल गण गौरले सैनिक नागरिक सम्बन्ध अभिवृद्धि तथा प्रकृति पर्यावरण र चुरे संरक्षण कार्यक्रमअन्तर्गत सिमसारको सफाइमा उदारता देखाएको हो । उचित संरक्षणको अभावमा सिमसार क्षेत्र कुरूप मात्र होइन अतिक्रमणको चपेटामा समेत परेको छ ।

२५ वर्षअघि १४ हेक्टर क्षेत्रफल ओगटेको सिमसार क्षेत्र यतिखेर अतिक्रमणले गर्दा ६ दशमलब ६७ हेक्टर क्षेत्रफलमा सीमित बनेको छ । १५ फिट गहिरो र १ किलोमिटर भन्दा बढी लम्बाइ तथा २ सय मिटरभन्दा बढी चौडाइ क्षेत्र ओगेटोको सिमसारमा जलकुम्भी झारले ढाक्नुका साथै वातावरणमा समेत असर पुर्याएको अवस्थामा नेपाली सेनाले सफाइ थालनी गरेको हो । जितिया पर्वमा सो सिमसारबाट थारू समुदायले माछा मार्ने प्रचलन रहँदै आएकोमा जलकुम्भी झार र फोहोरले गर्दा सो कार्यसमेत बन्द भएको छ ।

नेपाली सेनाले करिब १० दिनभित्र सक्ने लक्ष्यका साथ सिमसार क्षेत्र सफाइमा जुटेको वीरदल गणका प्रमुख सेनानी राजन दाहालले बताउनुभयो । चन्द्रपुर नगरपालिका–८ मा रहेको सो सिमसारमा दुर्लभ चराहरु सारस, पानीहाँस, झिल्ला र साइबेरियन चराहरु देखिने गरेको छ । इतिहास बोकेको सिमसार तालको संरक्षणमा सबै जुट्न जरुरी रहेको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी बताउनुहुन्छ । नेपाली सेनाले सफाइ गरेपछि सिमसार क्षेत्र विकास निर्माणमा नगरपालिकाले योजनाबद्ध कार्य गर्ने उहाँले बताउनुभयो ।

सदियौंदेखिको पुरातात्विक महत्व रहेको सो सिमसार क्षेत्रको १२ कट्ठा जमिन व्यक्तिको नाममा दर्ता भइसकेको छ । चन्द्रपुर नगरपालिकाले उक्त जमिन खारेजीका लागि सरकारी तथा सार्वजनिक जग्गा संरक्षण आयोग सिंहदरबारमा निवेदन दिए पनि अझै सुनवाइ नभएको जनाएको छ । सिमसार क्षेत्रको सफाइपछि आन्तरिक तथा बाह्य पर्यटक उहाँ अवलोकन गर्न आउने रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको विश्वास छ ।