मुगालीले पाए वर्ष दिनपछि नुन



मुगु ।

हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक सरकारी अनुदानको नुन पाउँदा पनि खुसी भएका छन् । सुनको सिरानी हालेर नुनको खोजी गर्ने मुगुवासीले विगतका वर्षमा अन्य जिल्लाबाट नुन ल्याएर खानुपथ्र्यो । यस वर्ष भने सरकारले मुगुमै नुन पठाएको हो ।

‘पहिले–पहिले अछाम, बाजुरा, नेपालगन्ज, सुर्खेतबाट नुन लिउनुपथ्र्यो’, खत्याड गाउँपालिका–२ का स्थानीय रतनबहादुर मल्ल भन्नुहुन्छ– ‘यो वर्ष घर–आँगनमै २० किलो नुन पाउँदा खुसी छौं ।’ घरमा भेडाबाख्रा, भैंसीलगायत अन्य पशुचौपायालाई पनि दिनुपर्ने भएकाले २० किलो नुन अपर्याप्त भएको उहाँको कथन छ । हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरूमा नेपाल सरकारले विगतका वर्षदेखि आयोडिनयुक्त नुन अनुदानमा वितरण गर्दै आएको थियो ।

विकट हिमाली जिल्ला मुगुमा रहेका छायाँनाथ रारा नगरपालिका र मुगमकामारोङ गाउँपालिकामा रहेका नागरिकलाई साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनीको डिपो कार्यालय गमगढी बजारबाट नियमित नुन वितरण गरिन्छ । सोरू गाउँपालिका र खत्याड गाउँपालिकामा भने वार्षिक रूपमा कम्पनीबाट अनुदानको आयोडिन नुनको कोटा छुट्याएको हुन्छ । सोहीअनुसार चालू आव २०७८–०७९ मा खत्याड गाउँपालिकाको लागि स्वीकृत १ हजार क्विन्टल अनुदानको नुन ४२ सय घरधुरीलाई ९ रुपियाँको दरले प्रतिघर २० किलो र अन्य कर्मचारीलाई मिलाएर वितरण गरिएको छ । सोरु गाउँपालिकामा माघ महिनाको अन्तिमसम्म नुन वितरण गरिने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा मुगुका डिपो प्रमुख खगेन्द्र कार्कीले बताउनुभयो ।

माथिल्लो मुगुमा भने स्थानीयले तिब्बतबाट ढिके नुन ल्याएर उपभोग गर्दै आएका छन् । सहजै आयोडिनयुक्त नुन नपाइने भएपछि ५ गाविसका स्थानीय तिब्बत जाने गरेका हुन् । साल्ट ट्रेडिङले भने गोदाम आइपुग्ने जोसुकैलाई आवश्यकताअनुसार नुन दिने गरिएको जनाएको छ । जिल्लामा वार्षिक नुनको स्वीकृत कोटा ५ हजार ८ सय क्विन्टल छ । सोरु र खत्याड भेगका १४ गाविसका लागि ठेकेदारले साँफेबगरबाट नुन ढुवानी गर्ने गरेका छन् । सदरमुकाममा भने नेपालगन्जबाट गाडीमार्फत ढुवानी हुने गरेको छ ।

सोरू र खत्याड भेगका लागि नुन अझै पर्याप्त छैन । सोरू र खत्याड भेगका लागि करिब १० हजार क्विन्टल नुन आवश्यक देखिएको छ । सोरू भेगका ७ गाविसका निम्ति पर्याप्त नुन नहुँदा स्थानीय दुई दिन हिँडेर सदरमुकाम आई भेंडा र खच्चरमा बोकाएर नुन लैजाने गरेका छन् । गमगढीमा पनि लामो समय पालो कुरेपछि मात्र नुन पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्