चार दिनमा खुल्यो हिमपातले अवरुद्ध राजमार्ग

0
Shares

बैतडी / डोटी

हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनमा खुलेको छ । बिहीबारदेखि अवरुद्ध उक्त राजमार्ग आइतबार मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको हो ।

उक्त राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि बन्द रहेको थियो । ‘दुई जेसीबीको प्रयोग गरी राजमार्ग सूचारु गरिएको छ । यसअघि लगातारको हिमपात र सडकमा बाक्लो हिउँ जमेकाले ढिलाइ भयो ।’ –बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेर बाटोमै अलपत्र परेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

यसअघि बिहीबारदेखि नै अवरुद्ध रहेको यहाँका दशरथचन्द राजमार्ग, र महाकाली राजमार्ग भने यसअघि नै सुचारु भइसकेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । यी राजमार्ग सडक डिभिजन कार्यालयका चारवटा जेसीभी र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीको सहयोगमा सञ्चालनमा आएको हो । राजमार्ग खुलाउन तथा हिउँ सफा गर्न बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानासहितको सुरक्षाकर्मीको टोली खटिएको थियो ।

यसैबीच, हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको हो । वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन र यो समयमा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।

दुई दिनपछि सुचारू
हिमपातका कारण अवरुद्ध भएका भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग आइतबारदेखि सुचारु भएका छन् । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्ग र सिलगढी साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएका थिए ।

हिउँ पन्छाएपछि अवरुद्ध भएका राजमार्गहरु सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताउनुभयो । स्थानीय तहका डोजर, नेपाली सेना तथा प्रहरीले हिउँ पन्छाएपछि राजमार्ग सुचारु भएको उहाँको भनाइ छ । राजमार्ग सुचारुपछि दुई दिनदेखि अलपत्र परेका यात्रु र सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेको ट्राफिक प्रहरी पोस्ट बुडरले जनाएको छ ।

भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वर तथा पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेलगायतका ठाउँमा बाक्लो हिमपात भएको थियो ।