कमजोर स्थानमा मात्रै गठबन्धन गर्‍यौं : नेता पौडेल

0
Shares

पोखरा ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा एक्लै लड्दा जित हासिल गर्न सक्ने स्थानमा एक्लै लड्ने र कमजोर रहेको क्षेत्रहरुमा चाहिँ गठबन्धन गरेरै चुनाव लड्ने तरिकाले पार्टी अघि बढ्नुपर्ने बताउनुभएको छ । पोखरामा आइतबार कांग्रेसको गण्डकी प्रदेश कार्यालयको उद्घाटनपश्चात् उहाँले सो बताउनुभएको हो ।

‘साथीहरुका बेला–बेला भन्नुहुन्छ ‘हामी त एक्लै लडिन्छ’ ठीक छ एक्लै लडौं । एक्लै लडनका लागि क्षमता बनाऔं । अहिलेको परिस्थिति हेर्दा हिजो हामी राष्ट्रिय सभाको चुनाव लड्दा कमला पन्त एक्लै लडेर सांसद बन्नुभएको त होइन होला नि ?’, उहाँले भन्नुभयो– ‘अहिले सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ, एक्लै कांग्रेसले सरकार बनाएको त होइन होला नि त ?’ ‘अब यहींसम्मलाई हो भनेर हो भन्ने हो भने राष्टिय चुनावसम्मलाई नै हो गठबन्धन त्यपछिलाई इतिश्री भन्ने वाक्य पनि आयो । त्यसपछि कांग्रेस इतिश्री हुने हो त । चुनाव लड्नका लागि मात्र कांग्रेस लड्ने हो की जित्नका लागि पनि लड्ने हो ?’ –उहाँको प्रश्न थियो ।

३० प्रतिशत मतदाता रहेको कांग्रेस अन्य ७० प्रतिशत मतदाता रहेका पार्टीहरुसँग भिड्दा पराजयमात्र भोग्नुपर्ने पौडेलको धारणा थियो । गण्डकी प्रदेशका बारेमा बोल्दै उहाँले प्रदेश अध्यक्ष शुक्रराज शर्मालाई ३ निर्देशन दिनुभएको थियो । कार्यकर्तालाई प्रशिक्षण दिन, मतदाता तयार गर्न र सम्पूर्ण कुराले योग्य उम्मेदवार पहिचान गर्न उहाँले निर्देशन दिनुभएको थियो ।

त्यस्तै, केन्द्रीय उपाध्यक्ष धनराज गुरुङले पार्टीमा त्याग, निष्ठा, बलिदान, अडान र प्रतिबद्धता हराएको बताउनुभएको थियो । उहाँले शहीदको बलिदानले आएको प्रजातन्त्र र लोकतन्त्र भ्रष्टाचार र कमिसनतन्त्रले छोपिएको सुनाउँदै अख्तियारमा थन्किएर बसेको ठूल्ठूला भ्रष्टचारका मुद्दा अब बाहिर ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । निष्पक्ष छानबिनको दायरामा ल्याउँदै आरोपितलाई कानुनको कठाघरामा ल्याउनुपर्ने उहाँको तर्क छ । पार्टीभित्रको अन्तरघातलाई छाडेर एकताबद्ध तरिकाले जानुपर्नेमा गुरुङले जोड दिनुभएको थियो ।

त्यसै गरी, केन्द्रीय सहमहामन्त्री जीवन परियारले भ्रष्टचारमुक्त राष्ट्र बनाउने कांग्रेसको अभियान रहेको बताउनुभउको थियो । उहाँले अबको निर्वाचनमा पार्टीलाई देशकै ठूलो पार्टी बनाउन लागिपर्न आम नेता–कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको थियो ।