आगो लगाएर भाउजूको हत्या, युवक फरार

0
Shares

राजविराज ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएकी २७ वर्षीया राजकुमारी साहको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो भने युवक फरार छन् ।

गत शुक्रबार बिहान २० वर्षीय प्रमेश्वर साहले राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । घरमै रोटी पकाइरहेकी रामकुमारीमाथि पेट्रोल छर्केर आगो लगाएपछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको परिवारजनले जनाएका छन् । राजकुमारीका ३० वर्षीय पति रविनकुमारले आफू काम विशेषले घरबाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भनी प्रहरीमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले उनको देवरको खोजी भइरहेको बताउनुभएको छ । ‘शुरुमा आगलागीमा परेर घाइते भएकी बताइए पनि अहिले उनको देवरले नै पेट्रोल छर्केर आगो लगाइदिएको कुरा आइरहेकाले उनको खोजी कार्य थालेका छौं’, उहाँले भन्नुभयो– ‘शव पनि पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।’घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।