इन्टरनेटको सञ्जालमा जोडिँदै सामुदायिक विद्यालय

0
Shares

म्याग्दी ।

देशैभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरू पछिल्लो समय इन्टरनेट सञ्जालको पहुँचमा पुग्न थालेका छन् । सरकारले हरेक वर्ष घोषणा गर्ने वार्षिक नीति, कार्यक्रम र बजेट भाषणमा उल्लेख गरेअनुसार खास गरी विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइ क्रियाकलापक सञ्चालन गर्न इन्टरनेट जडान गर्न थालिएको हो ।

यसै क्रममा हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित ४२ वटा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि इन्टरनेट जडान कार्य शुरु भएको छ । बेनीबजारको बसपार्क क्षेत्रमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट कार्य जडान भएपछि राउटरको स्विच अन गरेर शनिबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जडान कार्यको औपचारिक उद्घाटन गर्नुभएको छ । विद्यालयमा आवश्यक पर्ने इमेल तथा इन्टरनेट प्रयोगका लागि दुर सञ्चार प्राधिकरणको आर्थिक सहयोगमा जोडिएको इन्टरनेटले सहज हुने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमणको समयमा भर्चुअल माध्यमबाट विद्यार्थीलाई दैनिकरूपमा कक्षा लिन र शिक्षकलाई पढाउनका लागि अहिले जोडिएको इन्टरनेटले सहज हुने उहाँले बताउनुहुन्छ । इन्टरनेट जडानको कार्यले शिक्षक तथा विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलापमा धेरै सहज हुने अपेक्षासमेत गरिएको छ ।

नेपाल दुर सञ्चार प्राधिकरणको ग्रामीण दुर सञ्चार विकास कोषले ब्रोडब्यान्ड इन्टरनेट सेवाको स्तरोन्नति तथा विस्तार गर्ने कार्यक्रमअन्तर्गत स्थानीय तहसँग समझदारी गरेर सामुदायिक विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएको हो । प्राधिकरणले बेनी नगरपालिकासँग सम्झौता गरेर नगरपालिकाभित्रका ४२ वटा विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराउन लागेको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जनाउनुभयो । बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट जडान खर्चसहित २ वर्षको २८ हजार रुपियाँ पनि प्राधिकरणले उपलब्ध गराएको उहाँको भनाइ छ ।

त्यस्तै, नगरपालिका क्षेत्रका ४२ वटै विद्यालयमा एक महिनाभित्रै इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको टेकमाइन्डस् नेटवर्कका जोनल इन्चार्ज सुवास श्रेष्ठ बताउनुहुन्छ । ‘प्राधिकरणसँगको सहकार्यमा बेनी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा तीव्र गतिको इन्टरनेट सुविधा हामीले दिन लागेका छौं ।’ –उहाँले भन्नुभयो । इन्टरनेट जडानपछि सामुदायिक विद्यालयमा शिक्षक तथा विद्यार्थीको सिकाइ प्रभावकारी हुने जनाइएको छ । पछिल्लो समय सबैको हात–हातमा स्मार्ट फोन पुगेपछि सबैलाई इन्टरनेट सेवा अपरिहार्य जस्तै बनेको छ ।

बेनी नगरपालिका क्षेत्रभित्र रत्नेचौरमा ३, ज्यामरुककोटमा ६, भकिम्लीमा ६, सिंगामा ३, पुलाचौरमा १०, अर्थुंगेमा ३, बेनीमा १, घतानका ७ र पात्लेखेतका ३ वटासहित कुल ४२ वटा विद्यालयमा इन्टरनेट जडान गर्ने कार्यको शुरुआती दिनमा बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट सेवा जोडिएको हो । इन्टरनेट जडानपछि विद्यार्थीलाई स्वेच्छिक अध्ययनमा पनि सहयोग पुग्ने सरोकारवालाहरु बताउँछन् ।