तेस्रोलिंगीका हत्यारालाई जन्मकैद

0
Shares

हेटौंडा ।

तेस्रोलिंगीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई जन्मकैदको सजाय फैसला भएको छ । २०७६ माघ ४ गते बिहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी एक तेस्रोलिंगीको हत्यामा संलग्न भएका ३ जनालाई जिल्ला अदालत मकवानपुरले जीवित रहेसम्म कैदको फैसला सुनाएको हो ।

हत्यामा संलग्न अन्यमध्ये एक नाबालकलाई १६ वर्ष कैद, एक जनालाई ४ वर्ष कैद र एक महिलालाई १ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाइएको छ । आरोपित चार जनाबाट हत्या भएकी तेस्रोलिंगीको परिवारलाई क्षतिपूर्ति भराउने फैसलासमेत भएको छ । हत्यामा संलग्न रहेका सुशील थापा, बुद्ध लामा र आशिष बललाई जबर्जस्ती करणी, कर्तव्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँका आरोपमा ९ वर्ष कैद र ९० हजार जरिवाना, पीडितको परिवारलाई जनही ३ लाख रुपियाँको दरले क्षतिपूर्ति भराउने फैसला भएको हो ।

हत्यामा संलग्न रहेका नाबालकलाई १६ वर्ष ८ महिना कैद, डाँकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितका परिवारलाई २ लाख रुपियाँ क्षतिपूर्ति, अर्का आरोपित सिमोन परियारलाई बलात्कार र हत्यातर्फ ४ वर्ष कैद, डाँकातर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपियाँ क्षतिपूर्ति र तेस्रोलिंगीको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । पीडितको परिवारलाई थप ५ लाख रुपियाँ पीडित राहत कोषबाट क्षतिपूर्ति भराउने फैसला भएको छ । सुशील चोरी मुद्दामा ३ वर्ष जेल बसेर निस्किएका हुन् ।

यौनसम्पर्क गरेपछि ७ हजार रुपियाँ नदिँदा विवाद भएको र हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । माघ २० गते प्राविधिक अनुसन्धानका आधारबाट हेटौंडा–११ बस्ने वर्ष २१ की एलिशा पाख्रिनसँग मृतकको ओप्पो मोबाइल बरामद भएको थियो । उनलाई सोध्दा आशिष बलले दिएको भन्ने बताइयो । आशिष बललाई खोजतलासपछि पक्राउ गरी सोधपुछ गर्दा उक्त मोबाइल हेटौंडा–४ कर्रा बस्ने ‘ह्याक्चर’ भनिने बुद्ध लामाले दिएको भन्ने बताइयो ।

सोपश्चात् तत्काल बुद्ध लामालाई चितवनबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्दा उनले मोबाइल कर्रा बस्ने वर्ष २४ का ‘भापु’ भनिने ना६ख ६५२७ नम्बर आइचर ट्रकका सहचालक सिमोन परियारले दिएको भन्ने बताए । तत्काल भापु ९परियार० लाई पक्राउ गरियो । घटनाका मुख्य भनिने परियारमाथि अनुसन्धान गर्दा हत्या गरेको खुलेको हो ।

उनलाई सोधपुछ गर्दा माघ ३ गते राति करिब १० बजे भापु भनिने परियारले ना६ख ६५२७ नम्बर आइचर ट्रक साहुलाई नसोधी गाडी स्टार्ट गरेर कमानेबाट हेटौंडा–१० को बसपार्कमा गए । उनले चुरोट किनेर खाँदा हेटौंडा–४, कर्रा बस्ने वर्ष २४ का ‘घन्टाउके’ भनिने सुशीललाई भेटी यौनसम्पर्क गर्न भनी दुवै जना सल्लाह गरी ट्रक सुनील थापाले चलाएर हेटौंडा–११ को थानाभर्याङमा राति करिब १२ बजे पुगेकोमा ट्रक थानाभर्याङस्थित पूर्व–पश्चिम सडकखण्डको छेउमा पार्किङ गरे ।

सुशील गाडीबाट झर्दा मृतकलाई भेटी ४ जनाले ७ हजार रुपियाँमा यौनसम्पर्क गर्ने कुराकानी भयो । प्रहरी भन्छ– ‘उनीहरु मृतकसहित ट्रकमा चढेर चारै जनाले ट्रकको अगाडिको क्याबिनमा रहेको सिटमा पालोपालो यौनसम्पर्क गरे । र, मृतकले पैसा माग्दा विवाद भयो । त्यसपछि सुशीलले मृतकको घाँटीमा सोही गाडीमा रहेको बिजुलीको तार बाँधे, अँठ्याएर बेहोस बनाइयो ।’

सबै मिली हत्या गरेपश्चात् सुशीलले ट्रक चलाएर सबैजना मिली शव सोही ट्रकमा क्याम्पाडाँडामा लगेर सडकको छेऊमा राखे । र, उनीहरु त्यहाँबाट फरार भए । परियारले बयानको क्रममा आफूलाई उक्त दिन दिउँसोबाट साहुले दुःख दिएको झोंकमा ट्रक पल्टाउन हिँडेको बताएका थिए । मृतकको कान्तिलोकपथमा पर्ने क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । मृतकको घाँटी र टाउकोमा लागेको चोटले हत्या भएको आशंका प्रहरीले गरेको थियो ।

नीलहीरा समाज तथा फ्रेन्ड्स हेटौंडाले हेटौंडाकी २९ वर्षीया तेस्रोलिंगीका हत्यारालाई कारबाही गर्न माग गरेको थियो । मृतकले मकवानपुरबाट पहिलोपटक तेस्रोलिंगी नागरिकका रूपमा नागरिकता प्राप्त गर्नुभएको थियो ।