इँटा उद्योगविरुद्ध कचनकवलवासी आन्दोलित

0
Shares

भद्रपुर ।

इँटा उद्योगले ज्यादती गरेको भन्दै कचनकवल गाउँपालिकावासी आन्दोलित भएका छन् । गाउँपालिका र सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीयले कचनकवल वातावरण संरक्षण तथा सम्वद्र्धन संघर्ष समिति गठन गर्दै आन्दोलित बनेका हुन् ।

सरकारले धान सुपर जोन घोषणा गरेको कचनकवलमा माछा पोखरीको नाममा मापदण्डविपरीत जथाभावी खेतीयोग्य जमिनको माटो उत्खनन गर्ने, सोही माटो इँटाभट्टालाई बिक्री–वितरण गर्ने, सडकमा जथाभावी ठूला सवारीसाधन कुदाउँदा दुर्घटनाको जोखिम बढेको, इँटाभट्टाबाट निस्किने धूँवाले वायु प्रदूषणसँगै खेतीपातीमा प्रत्यक्ष असर पारिरहेकाले त्यसविरुद्ध संघर्षमा उत्रिनुपरेको संर्घष समितिका संयोजक निश्चल दाहालले बताउनुभयो ।

तीन वर्ग किलोमिटरभन्दा कम क्षेत्रमा ६ वटा इँटाभट्टा सञ्चालन छन् । ती भट्टाहरूले एक सिजनमा करोडौं इँटा उत्पादन गर्दै आएका छन् । १ लाख इँटा चिम्नीमा पोल्दा १८ देखि २५ टनसम्म पत्थर कोइला खपत हुन्छ । पत्थर जलेर निस्किने कालो धूँवाले स्थानीयवासीलाई असर गरिरहे पनि सरोकारवाला निकाय मौन रहेकाले आन्दोलनमा उत्रिनुपरेको उहाँको भनाइ छ ।

त्यस्तै, समितिका सदस्य राजन घिमिरे पनि वातावरणीय विनास गरी गरिएको विकास सह्य नहुने बताउनुहुन्छ । संघर्षका कार्यक्रम शान्तिपूर्णरूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै जाने उहाँको भनाइ छ ।

इँटाभट्टाको ज्यादती अब सहन नसकिने समितिका सदस्य सोम चम्लागाईंले बताउनुभयो । इँटाभट्टा उद्योगीहरूसँग छलफल र बैठक बसेर उत्पन्न समस्या समाधानका लागि पहल गर्ने र त्यो निष्कर्षमा नपुगे आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो । गाउँपालिकामा ज्योति इँटा भट्टा, स्टार इँटा भट्टा, दुई स्थानमा एसबीआई इँटा भट्टा, चण्डी इँटा भट्टा र प्रेम इँटा भट्टा सञ्चालनमा रहेका छन् ।

कचनकवल वातावरण संरक्षण तथा सम्वद्र्धन संघर्ष समितिले पहिलो चरणको आन्दोलनको कार्यक्रममा अनुसार हस्ताक्षर अभियान शुरु गरेको छ । बिहीबारदेखि शुरु भएको हस्ताक्षर अभियानमा २ सयभन्दा बढी स्थानीयले हस्ताक्षर गरिसकेको संघर्ष समितिका संयोजक निश्चल दाहालले बताउनुभयो । हस्ताक्षर अभियान सकिएलगतै कचनकवल गाउँपालिका, जिल्ला प्रशासन कार्यालय झापा, श्रम कार्यालय झापामा बुझाउने कार्यक्रम रहेको उहाँको कथन छ ।

इँटाभट्टा उद्योगका कारण वातावरणमा पर्न गएको प्रतिकूल असरविरुद्ध आन्दोलित बनेका संघर्ष समितिको यस अभियानमा झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले सुझावसहित ऐक्यवद्धता जनाएको समितिका संयोजक दाहालले बताउनुहुन्छ ।