गण्डकी विश्वविद्यालयले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने



पर्वत ।

गण्डकी प्रदेशमा जनजाति समुदायका बीचमा लोकप्रिय कोदोबाट उत्पादन हुने रक्सी(मदिरा)लाई गण्डकी विश्वविद्यालयले ब्रान्डिङ गर्ने भएको छ । विश्व विद्यालयले गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रूपमै उत्पादन हुने मदिरालाई कसरी ब्रान्डिङ गर्न सकिन्छ भनेर अध्ययन शुरू गरेको हो । गण्डकी विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमिल्सिनाले पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्रान्डिङ गर्नेगरी अध्ययन शुरू गरिएको जानकारी दिनुभयो ।

पर्वतमा भएको शैक्षिक क्षेत्रका अगुवाहरूसँगको अन्तरक्रियामा बोल्दै रजिष्ट्रार तिमिल्सिनाले ब्रान्डिङ र गुणस्तर मापनको अभावमा घरेलु मदिरा उत्पादनमा प्रतिबन्ध लगाउने तथा उत्पादित मदिरासमेत खेर जाने गरेको अवस्थामा यसलाई ब्रान्डिङ गर्दै गुणस्तरको सुनिश्चितता र राजस्व वृद्धि गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

‘विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान ब्रान्डिङको अवधारणा अघि सारिएको हो ।’ उहाँले भन्नुभयो–‘गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको कार्ययोजनाअनुरूप कोदोको रक्सीलाई ब्रान्डिङ गर्न थालिएका हो । यसलाई छिट्टै निष्कर्षमा पुर्याउँछौं ।’ गण्डकी प्रदेशमा कोदोको खेती र उत्पादन बढी हुने र घरेलु मदिरासमेत बढी मात्रामा उत्पादन हुँदै आएको छ ।

यसै गरी विश्वविद्यालयले सुन्तलामा किरा लाग्ने विषयको समेत अध्ययन शुरू गरेको छ । विगत केही वर्षदेखि सुन्तलामा किरा लाग्दा पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायतका जिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको भन्दै यसको अध्ययन थालिएको उहाँले जानकारी दिनुभयो ।

विश्वविद्यालयले पर्वतका शिक्षा क्षेत्रका सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरी गण्डकी प्रदेश सरकारको पहिलो विश्वविद्यालयबाट सञ्चालित शैक्षिक कार्यक्रम, आगामी रणनीति र यस विश्वविद्यालय सञ्चालनका उद्देश्यका बारेमा छलफल गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले गण्डकी प्रदेशमै दक्षजनशक्ति उत्पादन गर्नका लागि विश्वविद्यालय रचनात्मक सोचका साथ अघि बढेको बताउनुभयो । अवको युगमा आवश्यक पर्ने व्यावहारिक शिक्षा प्रदान गर्नका लागि विश्व विद्यालय लागिपरेको छ ।

शिक्षाको गहिरो अध्ययनबिना जुनसुकै क्षेत्र पनि अपूरो हुने भएकाले यो विश्वविद्यालय सूचना प्रविधि, खेलकुद, चिकित्सा विज्ञानलगायत कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रका पढाइ सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिको कक्षा सञ्चालन गरिने भएको छ भने त्यसै गरी खेलकुद विभागको पढाइसमेत सञ्चालन गरिने उहाँको भनाइ छ । हरेक नागरिकलाई सर्वसुलभ रूपमा शिक्षाको पहुँच पुर्याउने उद्देश्यले प्रदेश सरकारले यो विश्वविद्यालय स्थापना गरेको कुलपति गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्