कांग्रेस कार्यसम्पादन समितिको पहिलो बैठक बिहीबार

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संघसंस्था तथा अधिवेशन हुन बाँकी जिल्लाको सम्बन्धमा छलफल गर्न बिहीबार कार्यसम्पादन समितिको बैठक बस्दै छ । कांग्रेसको भ्रातृ संगठनहरू नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघलगायत दर्जनौं संघसस्थाहरूका साथै १६ वटा जिल्लाको अधिवेशनसमेत हुन सकेको छैन ।

सभापति शेरबहादुर देउवाले केही दिनअघि मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गर्नुभएको थियो । कार्यसम्पादन समितिको मुख्य जिम्मेवारी केन्द्रीय समितिको एउटा बैठक र अर्को बैठकको बीचमा गर्नुपर्ने काम गर्नु हो । साथै यो समितिले भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशनका लागि निर्णय लिने र केन्द्रीय समितिमा अनुमोदनका लागि पेस गर्ने काम पनि गर्दछ । केन्द्रीय समितिले तोकेको तदर्थ समितिको भरमा चलेको नेविसंघ र चार नेताको भरमा चलेको तरुण दल मात्र हैन, कांग्रेसका प्रायः सबै भ्रातृ एवं शुभेच्छुक संघसंस्थाको अवस्था लथालिङ्ग छ ।

कांग्रेस विधानमा माथिल्लो तहमा निर्वाचित भएपछि तल्लो तहको पद स्वतः खारेज हुने व्यवस्था रहेको भन्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिना भन्नुहुन्छ– ‘नेविसंघका अध्यक्ष राजिव ढुंगाना र तरुण दलका अध्यक्ष जीतजंग बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उहाँहरूको पद स्वतः खारेज हुनुपर्ने हो ।’

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १६ वटा जिल्ला सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लामा आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन अझै हुन सकेको छैन । यसअघि बाँकी जिल्ला अधिवेशन गर्न पौष २७ र माघ १५ गते दुईपटक मिति तोकिए पनि कोरोना महामारीलाई देखाउँदै स्थगित गरिएको थियो ।

कार्यसम्पादन समितिले जिल्ला अधिवेशनको लागि पनि नयाँ मिति तय गर्ने बताइन्छ । कार्यसम्पादन समितिमा केन्द्रीय समितिका पदाधिकारीहरू सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा रहेका छन् । यस्तै, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार पनि कार्यसम्पादन समितिमा रहेका छन् ।

साथै केन्द्रीय सदस्यहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना पनि कार्यसम्पादन समितिमा छन् ।