किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति



राजविराज ।

मधेस प्रदेश सरकारले किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानको समस्या पहिचान गरी समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा अर्थमन्त्री साह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश सर्राफ छन् ।

समितिले कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बीमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था र आगामी रणनीति तयार गर्नेछन् । त्यस्तै, कृषि विद्युतीकरणको अवस्था, मधेस प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेस सरकारले कृषि सुधारका लागि गरेको गतिविधिको समीक्षा एवं आगामी योजनाबारे नीति निर्माण गर्ने समितिलाई जिम्मेवारी दिइएको प्रवक्ता साहले बताउनुभयो । समितिले १५ दिनभित्र मन्त्रिपरिषद्मा अन्तरिम प्रतिवेदन पेस गर्ने समयसीमा पाएको छ । एक महिनामा पूर्ण प्रतिवेदन समितिले पेस गर्नुपर्ने छ ।

मृतकका परिवारलाई एक लाख
मधेस प्रदेश सरकारले हावाहुरी कारण मृत्यु भएका परिवारलाई राहत स्वरूप एक–एक लाख रुपियाँ उपलब्ध गराउने भएको छ । शनिबारकै मन्त्रिपरिषद्को बैठकले धनुषाको सबैला नगरपालिकाका दुई र रौतहटको बौधिमाई नगरपालिकाका एक गरी तीन परिवारलाई एक–एक लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता साहले बताउनुभयो ।

गत शुक्रबार हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय परिसरमा रहेको रुख ढलेर किच्दा ७ वर्षीय अरबन्दी सदा र ८ वर्षीया प्रतीमाकुमारी सदाको मृत्यु भएको थियो । त्यस्तै, रौतहटको बौधिमाई नगरपालिका–१ मा पनि हावाहुरीले इँटाको घर भत्काउँदा ४५ वर्षीया फूलमतिया देवीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्