हत्या आरोपी ११ वर्षपछि पक्राउ

0
Shares

बाँके, (नेस) ।

नेपालगन्जका २१ वर्षीय हिमलाल बुढालाई अपहरण गरी कोहलपुरमा लगेर हत्या गरेका शौभाग्य मल्ल ११ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले मल्ललाई गोरखामा पक्राउ गरिएको जानकारी दिनुभयो ।

२०६७ माघ ३ गते पाँच जना मिलेर हिमलाललाई नेपालगन्जको धम्बोझीबाट अपहरण गरेर कोहलपुर पुर्याइएको थियो । कोहलपुरमा एउटा खाली घरगोठमा बन्धक बनाएर हिमलालका परिवारसँग ३५ लाख फिरौती मागिएको थियो । तर, पोल खुल्ने भएपछि अपहरणकारीले तारले घाँटी कसेर हिमलालको हत्या गरेका थिए । हत्या गरेपछि हिमलालको अनुहार जलाइएको थियो ।

उक्त घटनामा संलग्न भन्दै जिल्ला अदालत, बाँकेले घटनामा संलग्न अर्का प्रशान्त मल्ललाई कर्तव्य ज्यानमा जन्मकैद, अपहरणमा नौ वर्ष कैदसहित ५० हजार जरिवानाको सजाय सुनाएको थियो । २०६९ असार ६ गते अदालतले उक्त फैसला सुनाएको थियो । दैलेखका कृष्ण थापा जमानीमा छुटेका थिए । नेपालगन्जका शौभाग्य मल्ल फरार भएका थिए । बाँके प्रहरीका अनुसार शौभाग्य मल्ललाई गोरखाबाट ल्याउने तयारी भएको छ ।