डम्बर हत्या प्रकरण : थप दुई जना पक्राउ

0
Shares

बैतडी, (नेस) ।

बैतडीको सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थपेर थप अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयो । दुवै गाउँकै विद्यालयका शिक्षक हुन् ।

यसअघि डम्मरको हत्यामा संलग्न हरीश अवस्थी र नवराज अवस्थी प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरु दुवै जनाले हत्यामा संलग्न रहेको स्वीकार गरिसकेकाले अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो । हरीशले दिएको लोकेसनको आधारमा डम्बरको शव गाडेको अवस्थामा फेला गरेको हो । त्यसअघि हरीशले विप्लव कार्यकर्ताले अपहरण गरेको नाटकसमेत गरेका थिए । मृतक डम्बर विप्लव कार्यकर्ता रहेका थिए ।