नेपाल टेलिकमले मनायो १८ औं वार्षिकोत्सव

0
Shares

काठमाडौं (नेस) ।

नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न गरेको छ । समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीलाई अग्रणी तथा जिम्मेवार सेवा प्रदायकको रूपमा निरन्तर स्थापित गर्न राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइवर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

सो अवसरमा उहाँले देशका सबै स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सुविधा पुर्याई मुलुककै आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो र प्रविधिमैत्री सेवा पुर्याउने गुणस्तरीय एफटीटीएच सेवाको विस्तार मागबमोजिम गर्नुपर्ने बताउनुभयो । कम्पनीका सेवाहरू सुपथ र आकर्षक रहे पनि आम सेवाग्राहीबीच यिनको प्रचार नभएकोतर्फ इंगित गर्दै उहाँले यसतर्फ विशेष ध्यान पुर्याउनुपर्ने उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा मन्त्री कार्कीले भर्चुअल माध्यमबाटै कम्पनीको अठारौं वार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको स्मारिका र भोल्टी सेवाको व्यावसायिक शुभारम्भ गरिएको थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले ग्राहकसंख्या मात्र बढाएर नपुग्ने उल्लेख गर्दै सक्रिय ग्राहकसंख्याको बढोत्तरी र राजश्वमा वृद्धि हुनुपर्नेतर्फ सचेत गराउनुभयो ।

उहाँले ‘कम्पनीका सेवाहरू यति दिगो र गुणस्तरीय हुनुपर्यो कि एकपटक प्रयोग गरिसकेपछि ग्राहकले यसलाई छाड्नै नसकुन्’ भन्नुभयो । उहाँले यस्तो सेवा मुलुकभर विस्तार गर्न कम्पनीलाई बाधा पारेका पक्षहरूको पहिचान गरी चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्राहकको चाहनाबमोजिमका गुणस्तरीय सूचना प्रविधिसम्बन्धी सेवाहरू प्रदान गर्नु नेपाल टेलिकमको पहिलो दायित्व भएको बताउनुभयो ।

उहाँले उपभोक्ताको सन्तुष्टिलाई मुख्य आधार मानी सेवा प्रदान गर्नु कम्पनीको प्रमुख चुनौती रहेको पनि उल्लेख गर्नुभयो । नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक सुरुआत गरेको जानकारी गराउनु भयो । वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरू कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरूप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तीमा एक÷एकवटा सरकारी र सामुदायिक विद्यालयहरूमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुङ्गीहरूका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने उहाँले बताउनुभयो ।

यसै गरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका विक्रेताहरू र एमपोस विक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरूलाई सम्मान र पदक तथा विगतका वार्षिकोत्सव कार्यक्रमहरूमा जस्तै आजको कार्यक्रममा पनि कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको थियो ।