बैतडीको जनसंख्या घट्यो

0
Shares

बैतडी, (नेस) ।

बैतडीको जनसंख्या साढे ६ हजार घटेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या घटेको पाइएको हो । वि सं २०६८ सालको जनगणना अनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८ सय ९८ रहेकोमा १० वर्षमा घटेर २ लाख ४४ हजार ४ सय पुगेको छ । १० वर्षमा यहाँ ६ हजार ४९८ जना घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसंख्या पुर्चौंडी नगरपालिकामा रहेको छ । त्यहाँको जनसंख्या १९ हजार ९ सय ६५ रहेको छ । यस्तै, दशरथचन्द नगरपालिकाको जनसंख्या १६ हजार ७ सय ३३, पाटनको जनसंख्या १४ हजार ९ सय ४५ र मेलौलीको जनसंख्या ११ हजार २ सय ६५ रहेको छ ।

यस्तै, दोगडाकेदार गाउँपालिकाको जनसंख्या १२ हजार ७ सय ६५, सिगास गाउँपालिकाको जनसंख्या १२ हजार ३ सय २६, डिलाशैनी गाउँपालिकाको जनसंख्या ११ हजार ८ सय ८६, शिवनाथ गाउँपालिकाको जनसंख्या ९ हजार ७ सय ५८, सुर्नया गाउँपालिकाको जनसंख्या ९ हजार ६ सय ८१ र पञ्चेश्वर गाउँपालिकाको जनसंख्या ९ हजार ६ सय ५० रहेको छ ।

बसाइँ सराइलगायतका कारणले जिल्लाको जनसंख्या घटेको प्रमुख पन्तले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जनसंख्या घट्नुको प्रमुख कारण बसाइँ सराइ नै हो, तराइको जनसंख्या बढेकोले पहाडबाट बसाइँ सरेर तराइ झर्ने बढेका छन् । जन्मदर पनि कम भएकाले जनसंख्या घटेको हो ।’ यो विवरण प्रारम्भिक रहेकाले र विस्तृत नतिजा पछि आउने भएकाले थोरै घटबढ हुन सक्ने जनाइएको छ ।