भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न

0
Shares

ललितपुर ।

विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक भीमसेन मन्दिरले समुदायकै अगुवाई पुनर्निर्मित पहिलो मन्दिर बनेको छ । साथै सो मन्दिरले पुनःनिर्माणमा लागेको कुल लागतको ठूलो हिस्सा पनि समुदायले नै बेहोरेको कीर्तिमान पनि कायम गरेको छ । भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले तीन वर्ष लगाएर मन्दिर पुनर्निर्माण सम्पन्न गरेपछि शनिबार विशेष धार्मिक पूजाको आयोजना गरिएको थियो ।

समितिका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ४ करोड ९३ लाख रकम खर्च भएकोेमा एभरेस्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ, नेपाल इन्भेस्टमेन्ट बैंक र ललितपुर महानगरपालिकाले १–१ करोड रूपियाँ गरी ३ करोड रूपियाँ उपलब्ध गराएको थियो । ललिपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसाल र क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम र वागमती प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्यको सांसद् विकास कोषबाट पनि पुनर्निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो । बाँकी खर्च विभिन्न संघसंस्था र सर्वसाधारण नागरिकको सहयोगबाट जुटाइएको समितिले जनाएको छ । मन्दिर पुनर्निर्माणमा काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) को प्राविधिक सहयोग रहेको छ ।

सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनले मन्दिर पुनर्निर्माणले समितिले अघि सारेको ‘हाम्रो सम्पदा, हामी आफैं बनाऔं’ भन्ने नारा व्यवहारमा स्थापित भएको बताउनुभयो । भूकम्पले क्षतिग्रस्त पाटनका अन्य पाँच सम्पदा कृष्ण मन्दिर, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर र मणिमण्डपका दुई पाटीको पुनर्निर्माणको कार्य सम्पन्न भइसकेको छ । ती मन्दिरहरू काठमाडौं उपत्यका संरक्षण कोष ‘केभीपीटी’ले विभिन्न दातृ निकाय र राजदूतावासको सहयोगमा पुनर्निर्माण गरेको थियो ।

भीमसेन मन्दिरको पुनर्निर्माणको जिम्मा लिन ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीयहरू, संस्कृति मन्त्रालय, पुरातत्व विभाग, ललितपुर महानगरपालिकामा कयौंपटक धाएका थिए । ऐतिहासिक नेपाल मण्डलका भीमसेन देवतासँग यहाँका उद्यमी, व्यवसायीहरूको आत्मिक सम्बन्धको कारण उनीहरूले भीमसेन अर्थात ‘भिन्द्यो’लाई आफ्नो इष्ट देवताका रूपमा पुज्दै आउनु हो । भीमसेनको पूजा र मन्दिरको दर्शन गर्नाले व्यापार फलिफाप हुने आम व्यवसायीको विश्वास छ ।

भूकम्प गएको करिब डेढ वर्षपछि पुरातत्व विभागले मन्दिर पुनर्निर्माणका लागि आर्थिक सहयोगको आग्रह गर्दै भारतीय राजदूतावासमा प्रस्ताव पठाएको थियो । भारतीय राजदूतावासले प्रस्तावना अध्ययन गरिरहेकै बेला औपचारिक सभा, समारोह, अनौपचारिक भेला, छलफलमा स्थानीय व्यापारीहरूको इष्ट देव भएकोले मन्दिर पुनर्निर्माणमा उनीहरूले नै अगुवाई गर्नुपर्ने कुराहरू उठ्न थालेको समितिका अध्यक्ष महर्जनले बताउनुभयो ।

स्थानीयले विभागमार्फत भारतीय राजदूतावाससमक्ष विभिन्न स्तरमा छलफल अघि बढाउनुका साथै तत्कालीन संस्कृति मन्त्रीसमेत रहेका प्रधानमन्त्रीकहाँ पनि लबिङ गरेर भारतीय दूतावासलाई मन्दिर पुनर्निर्माणका जिम्मा आफूलाई दिन मनाएका थिए । त्यसपछि ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीय उद्यमी व्यवसायी, मंगल टोल सुधार समिति, समाजसेवी, जातीय खलःपुचःका प्रतिनिधि समावेश गरी भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरिएको थियो । शुरूमा ललितपुर उद्योग वाणिज्य संघले ‘सिड मनी’ को रूपमा १० लाख रूपियाँ राखेर पुनर्निर्माण कार्य थालिएको थियो ।