जनगणनाको नजिता सही नभएको दाबी

0
Shares

काठमाडौं ।

जनप्रतिनिधिले २०७८ को जनगणना नतिजा सही नभएको दाबी गरेका छन् । संघीय संसद्को अर्थ समितिमा केन्द्रीय तथ्यांक विभागका पदाधिकारीहरूसँग भएको छलफलका क्रममा सहभागी वक्ताहरूले यस्तो दाबी गरेका हुन् ।

मधेश प्रदेशका कतिपय घरधुरीहरूमा गणक नपुगेको, गणकले धर्म र भाषाको सही आँकडा टिपोट नगरेको सांसद जयकुमार राईले बताउनुभयो । उहाँले जनगणनाका लागि गणकलाई कसरी प्रशिक्षित गराइएको थियो, किन लापरबाही गरे भन्ने प्रश्न केन्द्रीय तथ्यांक विभागका पदाधिकारीसमक्ष राख्नुभयो ।

गणक नआएकाले जनगणनामा आफू छुटेको, जात, धर्मका विषयमा जानकारी टिपोट नगरेको, सिर्फ महिला र पुरुषको संख्या मात्र टिपोट गरेको सांसद सरबत आरा खानले बताउनुभयो । नागरिकता प्राप्त गरेका व्यक्तिको मात्र जनगणना गरिएको, कलैया नगरपालिका–४ मा गणक नआएको, शहरी क्षेत्रका मुख्य सडक आसपासमा मात्र गणक पुग्ने गरेको, २०६३ पश्चात् अल्पसंख्यक र जातीय अधिकारले महत्व पाए पनि जनगणनमा अल्पसंख्यकलाई नजरअन्दाज गरिएको सांसद रामबाबु यादवले बताउनुभयो । वडादेखि केन्द्रसम्म जनप्रतिनिधि रहेको अवस्थामा समेत जनगणना पूर्वजनप्रतिनिधिसँग छलफल नगरिएको उहाँको दुखेसो थियो । उहाँले २०७८ को जनगणनालाई हावा तालको जनगणनाको संज्ञा दिनुभयो ।

तर, वडातहबाट राम्रो सहयोग प्राप्त भएको, चार जना गणकका लागि एक जना सुपरिवेक्षक चयन गरिएको, इमानदारी र लगनशीलतापूर्वक कार्य गरिएकाले अल्पसंख्यक जनगणनामा नछुटेको दाबी केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिलमान श्रेष्ठको थियो ।

सांसद हरिराम अधिकारीले जनगणनामा महिला तथा पुरुषको संख्या मात्र पहिल्याउन खोजिएकाले जनगणनाको नतिजा परम्परागत ढर्रामै आएको बताउनुभयो । हाल प्रारम्भिक आंकडा मात्र प्रस्तुत गरिएकाले सच्चाउन सकिने भए सच्चाउनुपर्ने उहाँको सुझाव थियो । सांसद अधिकारीले मनाङ जिल्लामा जनगणनाले देखाएको संख्याभन्दा मतदाता संख्या बढी देखिनुको कारण माग गर्नुभयो । मनाङ जिल्लाको जनसंख्या ६ हजार ५ सय ४१ नै रहेको विभागका महानिर्देशक श्रेष्ठले ठोकुवा गर्नुभयो । गणना विधि एवं बसाइँसराइका कारण मतदाता संख्याभन्दा जनसंख्या कम देखिएको महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

गणक आफू र आफ्नो टोलमा नआएको सांसद प्रमिला राईले बताउनुभयो । राज्यले चाहेजस्तो सही तथ्याङ्क नआएको बताउँदै पुनः जनगणना गरिएमा फरक नतिजा आउने उहाँको दाबी थियो । सांसद पदम गिरीले आफूसहित ५० लाख नेपाली जनगणनाका क्रममा छुटेको दाबी गर्दै अझै सयम रहेकाले सही नतिजा निकाल्ने गरी पुनर्विचार गर्न माग गर्नुभयो । मतदाताको गणना स्थायी बसोबासको आधारमा र जनगणना हाल बसोबासका आधारमा गरिने विधि बेठीक रहेको जिकिर सांसद सुरेन्द्र पाण्डेले गर्नुभयो । ठीक नतिजा प्राप्त गर्नका लागि ठीक विधि अपनाउन सक्नुपर्ने उहाँको दाबी थियो ।

आगामी सोह्रौं तथा सत्रौं आवधिक योजना तर्जुमा गरिने भए तापनि जनगणनाको प्रारम्भिक नतिजा माथि प्रश्न चिह्न उठिरहेको अर्थसमितका सचिव सुरेन्द्र अर्लालले बताउनुभयो । गणना सही गरिएको भए चाहेर पनि घटबढ गर्न नसकिने बताउँदै अन्तिम आँकडा निकाल्नुपूर्व ठेट आँकडा नजिक पुग्ने केही उपाय अबलम्बन गर्न सकिन्छ कि भन्ने जिज्ञासा सचिव अर्यालको थियो ।