जलेर तीनको मृत्यु



राजविराज, (नेस) ।

सुनसरीको कोसी गाउँपालिका–१ फुलचोकमा शुक्रबार राति यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनापछि सवारीसाधनभित्रै च्यापिएका तीन जनाको आगोले जलेर बस र ट्रकभित्रै मृत्यु भएको छ ।

आगोमा जलेर दुवै चालक र एक यात्रु गरी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन बढी व्यक्ति घाइते भएका थिए । दुर्घटनाको केहीबेरमै दुवै सवारीसाधनमा आगलागी भएको र उद्धार गर्न नसक्दा उनीहरूको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले बताउनुभएको छ ।

झापाको काँकडभिट्टाबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको ना८ख ८४९३ नम्बरको बस र पश्चिमतर्फ आउँदै गरेको ना५ख २९९६ नम्बरको ट्रक खुनिया खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा बसका चालक झापाको हल्दिबारी गाउँपालिका–१ गोलधापका ४५ वर्षीय सरोज राई र बसकै यात्रु भारतको पश्चिम बङ्गालका २५ वर्षीय निहाल प्रधान तथा ट्रकका चालक बाराको निजगढ–९ का २७ वर्षीय शेख फिरोजको मृत्यु भएको एसपी खतिवडाले बताउनुभएको छ ।

दुर्घटनामा ट्रकका सहचालक बाराको निजगढ–९ का ४३ वर्षीय दीपक श्रेष्ठसहित बसमा यात्रा गरिरहेका २७ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अधिकांश घाइते यात्रुहरूलाई उपचारपछि घर फर्किइएको जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्