७९८ एम्पुल लागुऔषधसहित महिला नियन्त्रणमा


हेटौंडा ।

मकवानपुर प्रहरीले एक महिलाको डेराबाट लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको बकैया गाउँपालिका वडा–४ छतिवन घर भएर हाल हेटाैंडा–१९, बस्तीपुरमा डेरा गरी बस्ने वर्ष २९ की नानीमाया खत्रीको डेरामा लागुऔषध बरामद गरेको हो ।

डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्पिन २५० एम्पुल गरी ७९८ एम्पुल लागुऔषध लुकाइराखेको अवस्थामा फेला परेर उनलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार राति करिब ८ बजे नियन्त्रणमा लिइएको थियो ।

मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै खत्रीलाई सार्वजनिक गर्नुभएको छ । ‘हामीले यस विषयमा थप अनुसन्धान गरिरहेका छौं । केही दिनमा कारोबारमा संलग्न अन्यलाई पनि पक्राउ गर्नेछौं,’ उहाँले भन्नुभयो ।