धुलिखेल र बनेपामा अनुगमन



काभ्रे ।

नेपालमै पहिलो धुलिखेल नगरपालिकाले शुरु गरेको ‘स्वस्थ शहर’ कार्यक्रमका बारेमा जानकारी लिने उद्देश्यले विश्व बैंकको टोली धुलिखेल नगरपालिकामा पुगेको छ । नगरपालिकाले सञ्चालन गरेको स्वस्थ शहर कार्यक्रमका साथै पछिल्लो समय कोभिड महामारी नियन्त्रणका लागि नेपाल सरकारले संचालन गरेको खोप कार्यक्रमको प्रभावकारीताका बारेमा जानकारी लिन उक्त टोली धुलिखेल आएको हो ।

धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले विश्व बैकका कन्ट्री डाइरेक्टर फेरिस हाडेड जिरभस, युनिसेफका नेपाल प्रतिनिधि डा. एलिक विस्च, डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश सम्बाजिरो मल्ल, डाइरेक्टर तथा डिभिजन प्रमुख डा. संगीता मल्ल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढार्इं, डा. अमित भण्डारी, धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजु, डा. रजिव तथा डब्ल्यूएचओका फोकल पर्सन डा. पवन उपाध्यायलगायतलाई स्वागत गर्दै धुलिखेलले गरेको स्वस्थ शहर कार्यक्रम र खोप अभियानका बारेमा जानकारी गराउनुभएको थियो ।

स्वस्थ शहर अभियानअन्र्तगत धुलिखेलले घरधुरी सर्भे गरी हरेक व्यक्तिको स्वास्थ्यको अवस्थाका बारेमा तथ्यांक लिइसकेको बताउँदै नगर प्रमुख ब्याञ्जुले नागरिकहरुको सहज उपचार र स्वास्थ्य पहुँचका लागि घरबाट ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थाको स्थापना, स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र आवश्यक औषधि निःशुल्क उपलब्ध गराउँदै शिविरहरु सञ्चालन, विशेषज्ञ सेवा उपलब्ध गराएको बताउनुभयो ।

नगरपालिकाले सर्ने र नसर्ने रोगको नियन्त्रणका लागि स्वस्थ आहार, शारीरिक व्यायामका लागि युवा तथा ज्येष्ठ नागरिक र बालबालिकाका लागि अलग–अलग योजना निर्माण गरी कार्य गरेको उहाँले बताउनुभयो । नागरिकहरु स्वस्थ राख्न खानेपानी र अन्य खाद्य उत्पादन र प्रयोगमा समेत नगरपालिकाले योजनाबद्ध रूपले कार्य गरेको टोलीलाई नगर प्रमुख ब्याञ्जु्ले जानकारी गराउनुभएको स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले जानकारी दिनुभयो । टोलीले राखेको जिज्ञाशाका बारेमा नगर प्रमुख ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेललगायतले स्पष्ट पार्नुभउको थियो ।

यस अघि धुलिखेल नगरपालिकाले स्वस्थ शहर धुलिखेलको योजना तयारीकाका लागि समूह छलफल गरेको थियो । साथै स्वास्थ प्रतिबद्धतापत्र जारी गर्दै नगरका हरेक गतिविधिलाई स्वास्थ्यमैत्री बनाउने गरी कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले बताउनुभयो । विश्व बैकको टोलीले बनेपा नगरपालिकामा भइरहेका स्वास्थ्यका कार्यहरुको पनि अवलोकन गरेको थियो । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलगायतले टोलीले बनेपामा भएको स्वास्थ्य शाखाले गरेका गतिविधिहरु, खोपको प्रगति र कोभिड महामारी नियन्त्रणमा भएका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्