बैतडीको हवाई सेवा एक महिनादेखि बन्द

0
Shares

बैतडी ।

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडानपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

नियमित रूपमा उडान हुने गरेकोमा हाल यात्रु नपाउँदा बन्द रहेको बैतडी नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताउनुभयो । ‘यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्’, उहाँले भन्नुभयो– ‘मौसम खराबीका कारण डिले हुने र यात्रुले हवाई यात्रा नगरेको देखिएको छ ।’ मौसम सफा हुँदै गएपछि नियमित उडान गरिने भट्टले बताउनुहुन्छ ।

१८ यात्रु क्षमताको समिट एयरको जहाजका लागि समेत यात्रु नहुँदा समस्या भएको छ । ‘दैनिक ५/७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन् । १४/१५ जनासम्म पुगेपछि उडान सुचारु गर्न सकिन्छ । –उहाँको भनाइ छ । बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपियाँ छ । १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको यात्रुले बताउँदै आएका छन् ।

यता समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्ट भने अन्य कुनै कारणले नभई यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा हुन नसकेको बताउनुहुन्छ । ‘तराईमा अझै पनि हुस्सु छ, पडाडमा पनि वर्षा र हिमपातले समस्या हुने गरेको छ, फागुनदेखि नियमित हुन्छ ।’ –उहाँले भन्नुभयो । गत वर्ष पनि खराब मौसमका कारण भन्दै एक महिना हवाई सेवा बन्द भएको थियो ।

पाटनमा विमानस्थल २६ वर्षपछि २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको थियो । २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भयो । त्यति बेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।