घान्द्रुक दुर्घटनापछि कलाभीरमा ‘रेलिङ’

0
Shares

कास्की ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित कलाभीरमा लामा अमृत फाउन्डेशनले रेलिङ निर्माण गरेको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित करिब १ लाख ४५ हजारको लागतमा सो भीरमा रेलिङ निर्माण गरेको हो ।

घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायी तथा देश–विदेशमा रहेका दाताहरुको आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण गरेको फाउन्डेसनका संस्थापक अमृत लामा गुरुङले बताउनुभयो । सो स्थानमा असोज २५ गते जिप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएको थियो ।

दुर्घटनापश्चात् नकारात्मक सन्देश प्रवाह भएको बताउँदै सो क्षेत्रमा सवार गर्दा सुरक्षित महसुस गराउन रेलिङ निर्माण गरेको उहाँको भनाइ छ । ‘त्यो दुर्घटना अत्यन्तै दुःखदायी बन्यो । पर्यटकमा पर्न गएको नराम्रो खबरपछि हामीले सुरक्षित गराउनका लागि रेलिङ निर्माण गरेका हौं’, अध्यक्ष गुरुङ भन्नुहुन्छ– ‘५ वटा घुम्तीमा ऐना पनि राखेका छौं । यसले यात्रा थप सुरक्षित बनाउन मद्दत पु¥याउनेछ ।’ ‘दुर्घटनापछि गाउँले पनि हिँड्न डराउँथें । रेलिङ बनाइसकेपछि ढुक्कका साथ आवत–जावत गर्छन् ।’ –उहाँले भन्नुभयो ।

त्यसै गरी, प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङले लामा फाउन्डेसनले सकारात्मक सन्देश दिने कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । ‘यो कार्यले सबैभन्दा त सकारात्मक सन्देश पुर्याएको छ । अब सहजै सवारीसाधनहरु घान्द्रुक भित्रिन सक्छन्’, उहाँले भन्नुभयो– ‘थप जोखिम क्षेत्रमा यस्ता रेलिङहरु निर्माण गर्नुपर्ने देखिन्छ ।’

एम्बुलेन्सका चालक तथा रेलिङ निर्माण समितिका संयोजक यामबहादुर गुरुङ पनि रेलिङ निकै बलियो रहेको बताउनुहुन्छ । ‘करिब ८ दिन लगाएर यो काम सम्पन्न गरेका छौं’, उहाँले भन्नुभयो– ‘माथि जति छ त्योभन्दा बढी नै जमिनमुनि पनि पीसीसी गरेर गाँडेका छौं । बाटोमा गुड्ने सवारी दुर्घटना भइहाले भने पनि यसले सहजै रोक्न सक्छ ।’

यहाँको बाटो पनि स्थानीयको २ करोड लागतमा सडक विस्तार भउको थियो । सरकारको ३ लाख मात्रै दिएको थियो । गुरुङका अनुसार जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएको छ । ‘अब ढलानको काम पनि छिट्टै गर्छौं ।’ –उहाँको भनाइ छ ।