मृतकको रकम–गहना चोरी आरोपमा दम्पती पक्राउ

0
Shares

इलाम ।

पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको साथबाट रकम र गहना चोरेको आशंकमा इलाम प्रहरीले एक दम्पतीलाई नियन्त्रणमा लिएको छ । जिल्लाको रोङ गाउँपालिका–४ मा एक हप्ताअघि (माघ १३ गते) बिहान पिकअप दुर्घटना भएको थियो ।

दुर्घटनामा एकै घरका दुई दाजुभाइको मृत्यु भएको थियो भने चालक घाइते भएका थिए । सो दुर्घटनापछि मृतकका आफन्तले मृतकको साथमा रहेको नगद र गहना हराएको उजुरी गरेपछि प्रहरीले सक्रिय ढंगबाट अनुसन्धान शुरु गर्दै आएको छ । अनुसन्धानकै क्रममा रोङ गाउँपालिका–४ का एक राई थरका दम्पतीलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । नियन्त्रणमा परेका व्यक्तिको नाम र ठेगाना बताउन प्रहरीले नचाहे पनि रोङ–४ कै बासिन्दाका अनुसार राई दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।

‘पिकअप दुर्घटनापछि घटनास्थलमा सबैभन्दा पहिला घटनास्थलमा को पुगेको भन्ने विषयबाट अनुसन्धान थाल्दा नियन्त्रणमा लिएका दुई जना गएको पाएका हौं’, प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले भन्नुभयो– ‘नियन्त्रणमा लिएका व्यक्तिसँग सोधपुछ तथा घटनाको अनुसन्धान भइरहेकाले नाम तत्काल सार्वजनिक गर्न सकिँदैन ।’ यता, स्थानीयले पनि नियन्त्रणमा परेका राई दम्पती नै पहिला घटनास्थलमा पुगेको बताएका छन् । ‘यस घटनापछि प्रहरीलाई ठूलो चुनौती आएकाले प्रहरी गम्भीर भएर लागेको र अनुसन्धान नजिक पनि पुगेको छ’ एसपी श्रेष्ठ भन्नुहुन्छ– ‘चाँडै नै घटनाको सत्यतथ्य बाहिर ल्याएर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने छौं ।’

पिकअप दुर्घटनापछि मृतकको साथमा रहेको नगद र गहना चोरी भएको उजुरी परेपछि इलाम प्रहरीले छानबिन समितिसमेत गठन गरेर अनुसन्धान गरिरहेको छ । डीएसपी गंगाबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । मेची राजमार्गको रोङ–४ पहिरो भन्ने स्थानमा प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप राजमार्गबाट खस्दा त्यसमा सवार दाजु–भाइको मृत्यु भएको थियो । मृत्यु हुनेमा झापा मेचीनगर–४ का ५५ वर्षे रोशन थापा र उनकै भाइ ४० वर्षे सूर्य थापा रहेका थिए । उनीहरूको साथमा रहेको नगद ४ लाख र सुन घटनास्थलबाटै हराएको भन्दै मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

खसी–बाख्रा किनबेच गर्ने थापा दाजुभाइको साथमा रहेको रकम हराएको परिवारजनको गुनासो छ । दुर्घटनामा चालक झापा मेचीनगर–४ का ३३ वर्षे अर्जुन कोइराला गम्भीर घाइते भएका थिए । उनको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।