दुई विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

0
Shares

पर्वत ।

पर्वत जिल्लाको कुस्मा नगरपालिका–१४ आर्थरका दुई विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । पर्वतको कुस्मा नगरपालिका–१ स्थित पाङ धैरेनी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी स्वस्थानी रिजालले आर्थरका शुभकल्याण आधारभूत र जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई उपहारका रूपमा न्यानो कपडा वितरण गर्नुभएको हो ।

रिजालले व्यक्तिगत सहयोगमा शुभकल्याण आधारभूत विद्यालय डाँडाखर्कका २० जना र जनकल्याण आधारभूत विद्यालयका १८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालय व्यवस्थपन समितिको तर्फबाट अनुरोध गरिएपछि विद्यार्थीको आवश्यकताका आधारमा न्यानो कपडा वितरण गरिएको शुभकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गौतमले बताउनुभयो । विद्यालय आउँदा पातलो कपडा लगाएर काँब्दै आउने अतिविपन्न परिवारका विद्यार्थी विद्यालयले छनोट गरेको उहाँले बताउनुभयो ।
चिसो मौसमका कारण बालबालिकालाई हुने प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको समाजसेवी रिजालले बताउनुभयो । विपन्न परिवारका बालबालिकालाई थोरै भए पनि यसले सहयोग पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो । पाङ धैरेनी माविकी अध्यक्षसमेत रहेकी रिजालले बालबालिकालाई घरमा नै शिक्षा लिने वातावरण बनाउन अभिभावकसँग आग्रह गरिएको भन्नुहुन्छ ।

न्यानो कपडा वितरण कार्यक्रममा कुस्मा नगरपालिका–१४ का निर्वाचित वडा सदस्य तथा नेकपा एमाले कुस्मा–१४ वडा कमिटीका अध्यक्ष होमनाथ रिमाल, पञ्चकोशी माविका प्रधानाध्यापक प्रकाश सापकोटालगायतले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा धन्यवाद दिनुभएको थियो । शुभकल्याण आधारभूत विद्यालयमा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मुना गुरुङ र जनकल्याण आधारभूत विद्यालयमा भएको कार्यक्रम विव्यस अध्यक्ष कृष्णप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
रिजालले यसअघि मोदी गाउँपालिका–२ देउपुर टापुको जनआर्दश आधारभूत विद्यालय र कुस्मा नगरपालिका–२ खुर्कोटको खाल्टा दलित बस्तीका विद्यार्थीलाई पनि न्यानो कपडा वितरण गरिसक्नुभएको छ ।