कैदी बन्दीसँगको भेटघाट बन्द

0
Shares

डोटी, (नेस) ।

डोटीमा कोरोना सङ्क्रमण बढेपछि यहाँको कारागार प्रशासनले कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाटलाई बन्द गरेको छ । कैदीबन्दीसँग भेटघाट गर्दा भीड बढ्ने तथा कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको हो ।

कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको डोटी कारागार प्रमुख लालबहादुर बोगटीले बताउनुभयो । ‘जिल्लामा कोरोना सङ्क्रमित दैनिक बढ्दै गइरहेका छन्, कैदीका आफन्त पनि भेटघाटमा आउने भएकाले कारागारमा पनि कोरोना सर्नसक्ने हुँदा सहज परिस्थिति नहुँदासम्म हामीले भेटघाट बन्द गरेका छौं ।’ –उहाँले भन्नुभयो ।

भेटघाट बन्दसँगै बाहिरबाट कोरोना परीक्षण नगरी ल्याइने कैदीबन्दीलाई समेत रोक लगाइएको बोगटीको भनाइ छ । कारागार प्रशासनले जिल्ला अदालतबाट कारागार चलान गरेका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरेको छ । कारागार प्रशासनले जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउनेबित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ ।

कुल क्षमता ४५ जना रहेको जिल्ला कारागारमा हाल विभिन्न मुद्दाका ५० जना पुरुष बन्दीलाई राखिएको छ । जिल्लामा कम्तीमा पनि २ सयभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।