जनगणनाको तथ्यांक सच्याउन पालिकाको माग

0
Shares

बाजुरा ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्यांक संकलमा लापर्बाही भएको भन्दै गौमूल गाउँपालिकाले सदरमुकाम मार्तडीमा बुधबार पत्रकार सम्मेलन गरेको छ । सम्बद्ध निकायलाई ध्यानाकर्षण गराउन पत्रकार सम्मेलन गरेको गौमूल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो ।

‘२०६८ सालको जनगणनामा गाउँपालिकाको संख्या ८ हजार ५ सय १५ रहेको थियो । २०७८ को प्रारम्भिक तथ्यांकमा ८ हजार ७ सय ६५ देखाएको छ’, उहाँले भन्नुभयो– ‘यो प्रारम्भिक तथ्यांक सरासर गलत छ, यसलाई सच्याउनुपर्छ ।’ १० वर्षमा जम्मा २ सय ५० का दरले जनसंख्या वृद्धि भएको देखिएको छ । यो तथ्यांक गलत हुनुमा गणक नै दोषी रहेको उपाअध्यक्ष रोकायको आरोप छ । ‘२०७५ सालमा घर–घरमा पुगेर गाउँपालिकाको पाश्र्वचित्र निर्माण गर्दा १० हजार ६ सय ९४ जनसंख्या रहेको थियो’, उपाध्यक्ष रोकायाको पश्न छ– ‘तीन वर्षपछि जनगणना हुँदा कसरी घट्यो ?’

जनगणनामा केहीको संख्या गणना नभएको भन्दै तथ्यांक कार्यलयमार्फत प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागमा ध्यानाकर्षणपत्र पठाइसकेको पनि उहाँले जनाउनुभयो । ‘गाउँपालिकाले २०७८ सालमा गाउँपालिकाको पाश्र्वचित्र अध्यावधि गरिरहेको छ, जसमा गाउँपालिको प्रारम्भिक जनसंख्या ११ हजार ५ पुगेको छ’, उपाअध्यक्ष रोकायाले भन्नुभयो– ‘यो सार्वजनिक गर्न बाँकी नै छ ।’

यसै विषयमा तथ्यांक विभाग बाजुराका प्रमुख केशरबहादुर ओलीलाई सोद्धा उहाँ भन्नुहुन्छ– ‘केन्द्रीय तथ्यांक बिभागले अक्सर बसोबासका आधारमा जनगणना गरेको हो । जसले गर्दा स्थायीरूपमा बसोवास गर्नेको मात्र सम्बन्धित क्षेत्रबाट नामावली संकलन गरिन्छ ।’ ६ महिनाभन्दा बढी जहाँ बसेको छ त्यहीं ठाउँबाट संकलन हुने हुँदा पनि पहिलेको र अहिलेको जनसंख्यामा फरक परेको हुन सक्ने उहाँको भनाइ छ । प्रारम्भिक तथ्यांकअनुुसार बाजुराका १५ हजार ३ सय ४८ जना नेपाल बाहिर छन् ।

तथ्यांक कार्यालय बाजुराले दिएको तथ्यांकअनुसार २०७८ को प्रारम्भिक जनगणना अनुसार बाजुरामा १ लाख ३८ हजार ९ सय ९८ जनसंख्या छ । २०६८ को जनगणनाअनुसार १ लाख ३४ हजार ९ सय १२ रहेको थियो । १० वर्षमा ४ हजार ३८ अर्थात् तीन प्रतिशतले बाजुराको जनसंख्या वृद्धि भएको देखिन्छ ।