अस्पतालमै छैन फार्मेसी, मेडिकलको भरमा कुरुवा

0
Shares

मुगु ।

हिमाली जिल्ला मुगुमा रहेको जिल्ला अस्पतालमा फार्मेसी (औषधि पसल) नहुँदा बिरामी कुरुवाले सास्ती व्यहोर्दै आएका छन् । निजी मेडिकल गमगढी बजारमा छ । त्यहाँ पुग्न अस्पतालबाट पैदल आधा घण्टा हिँड्नुपर्छ ।

२०६३ सालमा स्थापना भएको जिल्ला अस्पतालमा अझै फार्मेसी सेवा स्थापना नहुँदा निजी मेडिकललाई चर्को मूल्य तिरेर उपचार गर्नुपर्ने बध्यता छ । उपचारका लागि अस्पतालमा आएका बिरामीलाई चिकित्सकले चेकजाँच गरी अस्पतालभित्र पाइने निःशुल्क औषधि दिने र नभएको औषधि पुर्जामा लेखेर बिरामीलाई गमगढी बजारमा रहेका निजी मेडिकलमा पठाउने गरेका छन् । जिल्ला अस्पतालमै फार्मेसी नहुँदा बिरामीलाई औषधि उपचार गर्न गाह्रो अवस्था भएको चिकित्सक नहकुल शाही बताउनुहुन्छ । उपचार गर्न आएका बिरामीलाई सबै प्रकारका औषधि प्राप्त होस् भन्ने उद्देश्यले अस्पतालले अनिवार्य फार्मेसी स्थापना गर्नुपर्ने हो । ‘सरकारले दिएको निःशुल्क औषधिले सबै बिरामीको उपचार हुँदैन । केही औषधि फार्मेसीबाट ल्याएर उपचार गर्नुपर्ने हुन्छ । तर, त्यो सुविधा यहाँ छैन ।’ –उहाँ भन्नुहुन्छ ।

जिल्ला अस्पतालबाट गमगढी बजारका मेडिकल पुग्न ३० मिनेट लाग्ने बिरामी कुरुवा रतनबहादुर बम बताउनुहुन्छ । निःशुल्क र सहुलियत दरमा उपचार गर्न जिल्ला अस्पताल आएका बिरामीले उल्टै महँगो औषधिको मार खेप्नुपर्ने अवस्था रहेको उहाँको कथन छ । जिल्ला अस्पतालमा फार्मेसी खोल्नुपर्ने नियम भए पनि सम्बन्धित निकायले वास्ता नगर्दा अस्पताल लामो समयदेखि फार्मेसीविहीन भएको हो । ‘निर्देशिका बनाएर अस्पतालमा फार्मेसी स्थापना गर्ने सोचमा छौं’, जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक प्रमुख उमेश गौतम भननुहुन्छ– ‘फार्मेसी स्थापना गर्न करिब ५ लाख बजेट चाहिन्छ । उक्त बजेट प्रदेश कार्यालयमा माग गर्नुपर्ने हुन्छ ।’

अस्पतालमा फार्मेसी स्थापना गर्न सकियो भने बिरामीलाई औषधिमा २० प्रतिशत छुट दिन सकिने उहाँको कथन छ । क्षेत्रीय मेडिकल स्टोरले उपलब्ध गराउने ७० प्रकारको निःशुल्क औषधि र जिल्ला स्वास्थ्य सेवा कार्यालयको बजेटबाट खरिद गरेको औषधि स्टोरमा राख्ने र आवश्यकताअनुसार सोही औषधि बिरामीलाई दिने गरिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले चालू आर्थिक वर्षमा आफ्नो बजेटबाट औषधि नै खरिद नगर्दा जिल्लामा औषधिको जटिल समस्या देखिएको छ । औषधि खरिदका लागि १८ लाख बजेट भए पनि अहिलेसम्म उक्त बजेट कागजमै सीमित राखिएकाले बिरामीलाई औषधि किन्न मेडिकल पठाउने गरिएको छ ।