लमजुङमा पुनः हिमपात, जनजीवन कष्टकर 

0
Shares

लमजुङ ।

लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ । भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार बेलुका बाट भारी हिमपात भएको हो ।

हिमपातको कारण घरबाट बाहिर निस्कन समेत कठिन भएको घले गाउँका स्थानीय उमल विकले बताउनु भयो । समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको घले गाउँ सँगै घनपोखरा, नायुमापनि हिमपात भएको स्थानीयले बताएका छन् ।

यस्तै लमजुङको बेसीशहर नगरपालिका १० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ । समुन्द्री सतहबाट १ हजार ९ सय ६५ मिटर उचाइमा रहेको कल्मे डाँडामा पनि बिहीबार रातीबाट हिमपात भएको पिसहिलका व्यवस्थापक होमलाल तामाङले बताउनु भयो ।

पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे भएका छन् । घले गाउँ, पिसहिलसहित मर्स्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ पुर्वीभेगका दुधपोखरी, बराहपोखरी, मेमेपोखरी लगायतका उच्च पहाडी भेगमा बुधबार दिउँसोदेखि हिमपात भएको छ । बाँझाखेतको खाँचे र गाउँभाचोक जस्ता बस्ती नजिकै हिउँ परेको छ ।

देशभरका हिमाली क्षेत्रहरूमा हिमपात भएको बताइएको छ । हिमपातका कारण चिसो बढेकाले जनजीवन कष्टकर बन्दै गएको छ ।