प्रशासनको आदेशविपरीत विद्यालय खोल्ने निर्णय

0
Shares

काठमाडौं ।

गोकर्णेश्वर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको आदेशको उल्लंघन गर्दै आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले हिजो बिहीबार नगर क्षेत्रका सामुदायिक एवं संस्थागत विद्यालयहरू स्वास्थ्य मापदण्ड पालना गर्दै माघ २३ देखि भौतिक रूपमै खोल्ने निर्णय गरेको थियो । स्थानीय प्रशासनले भने कोरोना संक्रमण जोखिमका कारण देखाउँदै माघ मसान्तसम्म विद्यालय बन्द कायमै राख्ने निर्णय गरेको थियो । तर, सो नगरपालिकाले विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीको मागअनुसार शिक्षा समितिको निर्णय भएको उल्लेख गर्दै भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय खोल्न दिने निर्णय गरेको हो ।

सो नगरपालिकाले विद्यालयले स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गरे नगरेको विषयमा अनुगमन गर्ने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने स्थानीय प्रशासनको आदेश उल्लंघन गर्नेमाथि कारबाही गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘कि त कोभिड– १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले विद्यालय खोल्न र बन्द गर्न पाउने अधिकार स्थानीय तहलाई दिनुपर्यो, होइन भने सीडीओ कार्यालयले दिएको आदेश पालना गर्नुपर्छ ।’

सीसीएमसीले विद्यालय खोल्ने र बन्द गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सोही अधिकारलाई प्रयोग गरी जिल्ला प्रशासन कार्यालयले यही माघ १५ देखि माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपत्यकाका प्रशासनले जारी गरेको आदेशको बुँदा नम्बर ‘ख’ मा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने/नगराउने उल्लेख छ । सो बुँदामा यस्ता शैक्षिक क्रियाकलाप भच्र्युअल वा वैकल्पिक शिक्षण सिकाइ विधिमा सञ्चालन गर्ने तर कोभिड खोप लगाउन तोकिएको दिन विद्यार्थीलाई विद्यालय वा शैक्षिक संस्थामा बोलाउन सक्ने उल्लेख छ ।

सो नगरपालिकाले हालको अवस्थामा खोप नलगाएका विद्यार्थीलाई भौतिक उपस्थतिमा पठनपाठन नगराउने जनाएको छ । १२ वर्षभन्दा माथिका खोप लगाएका बालबालिकालाई भौतिक रूपमा पठनपाठन गरी स्वास्थ्य मापदण्ड पूरा गर्दै प्रत्येक कोठामा २५ जना विद्यार्थी राखिने गरी कक्षा सञ्चालन हुने गोकर्णेश्वर नपा–८ का वडा अध्यक्ष मनोज ढुंगानाले बताउनुभयो ।