स्थानीय तह निर्वाचनको आन्तरिक तयारी अघि बढाउँदै आयोग

0
Shares

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सम्बन्धमा आन्तरिक तयारी अघि बढाएको छ । आयोगले सिफारिस गरेअनुरूप सरकारले आगामी जेठ ४ गते निर्वाचन घोषणा गर्नेमा ढुक्क हुँदै आयोगले तयारी अघि बढाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारीहरूसँग मंगलबार भएको भेटमा आयोगले सिफारिस गरेकै मितिमा निर्वाचन गराउने वचन दिंदै चुनावको तयारी थाल्न आग्रह गर्नुभएको बताइएको छ । प्रवक्ता पौडेलका अनुसार सरकारले मिति घोषणा गरेको कम्तीमा तीन दिनभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम थालेको छ । उहाँ भन्नुभयो– ‘चुनावको मिति घोषणा भएदेखि मतदानको दिनसम्म के के गर्ने भनेर सबै काम कार्यतालिकामा उल्लेख हुनेछ । अहिले हामी आन्तरिक गृहकार्य गरिरहेका छौं ।’ निर्वाचन कार्यक्रम
भने चुनाव हुन एक महिना बाँकी रहँदा मात्र ल्याइने पनि आयोगले जनाएको छ । निर्वाचन कार्यक्रममा मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबीविरोध, छानबिनलगायतका विषय समेटिनेछ ।

निर्वाचनको व्यवस्थापकीय, प्राविधिक र व्यावहारिक पक्ष तयार गर्न आयोगलाई सामान्यतयाः निर्वाचनको मिति घोषणा भएको दिनदेखि १ सय २० दिन आवश्यक पर्दछ । सरकार र आयोगबीच समझदारी बनेको जेठ ४ का लागि अब १ सय ३ दिन मात्रै बाँकी छ । आयोगले धेरैजसो पूर्व तयारीहरू सकिसकेकाले अब सरकारले मिति घोषणा गर्नेबित्तिकै बाँकी तयारी अघि बढाउने जनाएको छ । मिति घोषणा नहुँदा पनि गर्न मिल्ने तयारीका काम लगभग भइसकेका जानकारी दिँदै प्रवक्ता पौडेलले भन्नुभयो– ‘हामी त चुनावको तयारीका लागि
तत्पर भएर बसेका छौं । अब सरकारले मिति तोकेपछि त्यहीअनुसार अन्य तयारी अघि बढाउनेछौं ।’

आयोगले मतदाता नामावली संकलन, मतदानस्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारीका अन्य कार्यहरू निरन्तर गरिरहेको जनाएको छ । चुनावको मिति घोषणा नहुँदासम्म फोटोसहितको मतदाता नामावली संकलन जारी राख्ने पनि आयोगले जनाएको छ । प्रवक्ता पौडेलले कानुनअनुसार मिति घोषणा भएको दिनसम्मको मात्रै विवरण अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिनुभयो ।

यसपटक ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन एकैपटक गर्ने सरकार र आयोगको तयारी छ । अघिल्लोपटक २०७४ सालमा भने वैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा निर्वाचन भएको थियो ।