आजको मौसम : यी ठाउँमा छ भारी वर्षा र हिमपातको सम्भावना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसकारण देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने भएको छ। देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

शनिबार भने देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ/असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुनसमेत महाशाखाले अनुरोध गरेको छ।