सभामुखविरुद्ध महाअभियोग ल्याए एमसीसीमा साथ दिन्छौं : रायमाझी

0
Shares

काठमाडौं, (नेस) ।

प्रमुख प्रतिपक्ष प्रतिपक्षी दल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए एमसीसी पारित गर्न एमालेले साथ दिने बताउनुभएको छ । उहाँले सभामुखलाई हटाउँदा नै फाइदा हुने टिप्पणी गर्दै भन्नुभयो– ‘सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरूसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी एमसीसीमा पनि साथ दिन्छौं ।’

एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको दाबी गर्दै उहाँले भन्नुभयो– ‘एमाले यति बेला परमादेशको कारण प्रतिपक्षमा छ । एमाले विरोधीहरूले महागठबन्धन बनाउने काम गरेका छन् । प्रतिपक्षीको विरोधमा सरकार पक्षकाले महागठबन्धन बनाएका छन् । तर, एमाले आफ्नो एजेन्डा लिएर अघि बढिरहेको छ । एमालेले आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बुहमत र शानदार विजयी हासिल गर्नेछ ।’

रायमाझीले एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको बताउँदै संसद्मा टेबुल भएपछि पार्टीले निर्णय गर्ने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी संसद्मा पेस गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा जतिसक्दो छिटो ट्रान्समिसन लाइन आवश्यक रहेको बताउँदै एमसीसी सहमति गरेर पारित गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।