एमसीसी निर्वाचन पछि धकेल्न प्रचण्ड–नेपालको प्रस्ताव

0
Shares

काठमाडौं ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनसम्मका लागि एमसीसी अगाडि नबढाउन प्रस्ताव गरेको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु संसद्बाटै अमेरिकी सहयोग परियोजना मिनेलियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरिरहेको बेला दाहाल र नेपालको यस्तो प्रस्ताव आएको हो ।

उच्च स्रोतका अनुसार स्थानीय तहको निर्वाचनसम्म एमसीसी संसदमा पेस नगर्न र त्यसपछि साझा सहमति बनाएर मात्र अगाडि बढ्न प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको छ ।

आगामी माघ २६ गते सभामुख अग्नि सापकोटाले संसद् बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सोही बैठकमा एमसीसी टेबुल गर्ने गृहकार्य गरिरहनुभएको छ । तर, सत्ता गठबन्धनमा साझा समझदारी नबनेको अहिलेको अवस्था र प्रचण्ड–नेपालले आग्रहका कारण माघ २६ गतेको लागि बोलाइएको बैठक स्थगित गरेर पुनः अर्को मिति तय गर्ने सम्भावना बढेको छ ।

लामो समयसम्म एमसीसीलाई लम्ब्याएर राख्न नहुने, संसद्मा पेस गरेर तत्काल अगाडि बढाउनुपर्ने अडान राख्दै आएका प्रधानमन्त्री देउवाले तेस्रो पटक पुनः एमसीसी परियोजना संसद्बाट अगाडि बढाउने योजना अगाडि सार्नुभएको छ । एमसीसी पारित गर्न सत्ता गठबन्धनभित्रबाट असहयोग भएको अवस्थामा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेको समेत साथ लिएर अगाडि बढ्ने नीति लिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री देउवाले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर संसद्को अवरोध हटाउन र एमसीसी पारित गर्न सहयोगको लागि आग्रहसमेत गर्नुभएको थियो । एमालेले भने एमसीसी पारित गर्नको लागि सभामुख अग्नि सापकोटाविरुद्ध कांग्रेसले महाअधियोगको प्रस्ताव ल्याउनुपर्ने शर्त अगाडि सारेको छ । यतिखेर एमसीसीलाई लिएर सत्ता गठबन्धन नै संकटमा पर्ने हो कि भन्ने आशंका पनि उब्जिएको छ ।