‘भाइलाई नसोध्नु होला तनाव हुन्छ’

भगवती लेमिनेट्स कर छली प्रकरण



काठमाडौं ।

भगवती लेमिनेट्सले गरेको राजस्व ठगीको प्रमाण एकपछि अर्को गरी थपिँदै गएको छ । नेपाल समाचारपत्रलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सोही संस्थाका एक वरिष्ठ कर्मचारीले फेरि अर्का डिलरले फर्जी बिलबीजक जारी गरेको प्रमाण उपलब्ध गराएका छन् । काठमाडौं मनमैंजुस्थित ओमकुमार प्लाइउडको नाममा मंसिर १८ गते भगवती लेमिनेट्सले पठाएको कच्चा बिलको स्टेटमेन्ट नेपाल समाचारपत्रलाई प्राप्त भएको छ ।

ओमकुमार प्लाइ सेन्टरका सञ्चालक मीनराज शेर्पाले भगवती लेमिनेट्सका सामान आफूले हाल बिक्री नगरेको बताउनुभएको छ । उहाँले आफू केही महिनादेखि विराटनगरमा रहेको र डिलरमा भाइ भएकाले धेरै कुरा थाहा नभएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘काम गरेर खाने हो, मैले ऋण गरेरै दोकान गरेको हुँ, हामीले सित्तैमा कसैको सामान लिएको छैन ।’ भगवती लेमिनेट्सले ओमकुमार प्लाइउडको नाममा बिल काट्दा कच्चा र पक्का भनी दुई थरी काटेको छ, राजस्व ठगी गरेको छ, यसमा तपाईंहरू पनि कारबाहीको भागीदार हुनुहुन्छ नि भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो– ‘हुन्छ नि कम्पनीले जे गर्छ गरोस्, मलाई केही मतलब भएन । हामीले राजस्व छलेका छैनौं, कागजपत्र छ हामीसँग, कम्पनीका कर्मचारी आए पनि डर छैन ।’

बजारमा भगवतीका सामान छैनन्, तपाईंले के बेचिरहनुभएको छ भनी सोधिएको प्रश्नमा शेर्पाले भन्नुभयो– ‘कम्पनीले त्यही भएर होला हिजोआज सामान दिएको छैन, म भाइको बिहेमा पूर्वतिर छु, सबै डिटेल काठमाडौं गएपछि मात्र थाहा हुन्छ ।’ तपाईंको भाइसँग कुरा गरौं त भनी जिज्ञासा राख्दा उहाँले अहिले भाइलाई तनाव हुन्छ केही कुरा नगर्नु होला भन्नुभयो ।

यसअघि सुकेधारास्थित एभरग्रिन प्लाइ सेन्टरका सञ्चालक सुमन सुवेदीले भगवती लेमिनेट्सका कारण आफूहरू मानसिक तनावमा परेको नेपाल समाचारपत्रलाई बताउनुभएको थियो । भगवती लेमिनेट्सले पक्का बिलको कारोबार झापाबाट गर्छ भने कच्चा बिलको कारोबार धुलाबारीबाट गर्ने गरेको स्रोतले जानकारी दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा मात्र ८० करोडको व्यापार कच्चा बिलबाट भएको नाम उल्लेख नगर्ने सर्तमा स्रोतले बताएको छ ।

सोही विषयलाई लिएर भगवती लेमिनेट्सका निर्देशकद्वय रजनिश कर्नानी र विष्णु मदगोरियासँग बारम्बार सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । भगवती लेमिनेट्सको बिलमा सबैभन्दा तल ‘के’, ‘पी’ र ‘जीटी’ लेखिएको छ । यसको अर्थ ‘के’ भनेको कच्चा बिल, ‘पी’ भनेको पक्का बिल र ‘जीटी’ भनेको ग्रान्ड टोटल हो । नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धिकरण र आन्तरिक राजस्व कार्यालयले भगवती लेमिनेट्सका कर्मचारीका साथै डिलर र उनका सञ्चालकको ३ देखि ५ वर्षसम्मको बैंक स्टेटमेन्ट हेर्यो भने कच्चा बिलबाट कति कर छली भइरहेको छ प्रस्ट हुन्छ ।

नेपालमा नियतवश कर छली गर्ने व्यक्तिविरुद्ध कडा कानुन छ । नक्कली बिल वा अन्डर इनभ्वाइस गरी कर छले ठगिएको रकममा शतप्रतिशत जरिवाना र ६ महिनाको जेल सजाय हुने कानुनी व्यवस्था छ ।

यो पनि पढ्नुहोस् :
भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठग्दै
भगवती लेमिनेट्सको फन्दामा डिलरहरू
भगवती लेमिनेट्सको फन्दामा एकपछि अर्को डिलर
भगवती लेमिनेट्सको कर छली प्रकरण : व्यक्तिगत नाममा चेक काट्ने डिलरविरुद्ध कारबाही हुने
भगवती प्लाइउडमा राजस्वको छापा
डिलरलाई मानसिक तनाव, व्यापार व्यवसाय चौपट

प्रतिक्रिया दिनुहोस्