धुलिखेलमा ‘स्वस्थ सहर’ अभियानको विश्व बैंकको टोलीद्वारा अवलोकन

धुलिखेल र बनेपामा खोपको अनुगमन



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपालमै पहिलो धुलिखेल नगरपालिकाले सुरु गरेको स्वस्थ सहर कार्यक्रमका बारेमा जानकारी लिने उद्देश्यले विश्व बैकको टोली धुलिखेल नगरपालिकामा पुगेको छ । नगरपालिकाले सञ्चालन गरेको स्वस्थ सहर कार्यक्रमका साथै पछिल्लो समय कोभिड महामारी नियन्त्रणका लागि नेपाल सरकारले सञ्चालन गरेको खोप कार्यक्रमको प्रभावकारीताका बारेमा जानकारी लिन उक्त टोली धुलिखेल आएको हो ।

धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले विश्व बैकका कन्ट्री डाइरेक्टर फेरिस हाडेड जिरभस, युनिसेफका नेपाल प्रतिनिधि डा. एलिक विस्च, डब्लुएचओका नेपाल प्रतिनिधि डा. राजेश सम्बाजिरो मल्ल, डाइरेक्टर तथा डिभिजन प्रमुख डा. सगिता मल्ल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाई, डा. अमित भण्डारी, धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजु, डा. रजिव तथा डब्लुएचओका फोकल पर्सन डा. पवन उपाध्याय लगायतलाई स्वागत गर्दै धुलिखेलले गरेको स्वस्थ सहर कार्यक्रम र खोप अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।

स्वस्थ सहर अभियान अन्तर्गत धुलिखेललले घर धुरी सर्भे गरी हरेक ब्यक्तिको स्वास्थ्यको अवस्थाका बारेमा तथ्याङ्क लिइसकेको बताउँदै नगर प्रमुख ब्याञ्जुले नागरिकहरूको सहज उपचार र स्वास्थ्य पहुँचका लागि घरबाट ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थाको स्थापना, स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र आवश्यक औषधी निःशुल्क उपलब्ध गराउँदै शिविरहरू सञ्चालन, विशेषज्ञ सेवा उपलब्ध गराएको बताउनु भयो । नगरपालिकाले सर्ने र नसर्ने रोगको नियन्त्रणका लागि स्वस्थ आहार, शारीरिक व्यायामका लागि युवा तथा जेष्ठ नागरिक र बालबालिकाहरूका लागि अलग अलग योजना निर्माण गरी कार्य गरेको बताउनु भयो ।

नागरिकहरू स्वस्थ राख्न खानेपानी र अन्य खाद्य उत्पादन र प्रयोगमा समेत नगरपालिकाले योजनाबद्ध रूपले कार्य गरेको टोलीलाई नगर प्रमुख ब्याञ्जु्ले जानकारी गराउनु भएको स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले जानकारी दिनु भयो । टोलीले राखेको जिज्ञासाका बारेमा नगर प्रमुख ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल लगायतले जानकारी गराउनु भएको थियो ।

यस अघि धुलिखेल नगरपालिकाले स्वस्थ सहर धुलिखेलको योजना तयारीकाका लागि समूह छलफल गरेको थियो । साथै स्वास्थ्य प्रतिबद्धता पत्र जारी गर्दै नगरका हरेक गतिविधिलाई स्वास्थ्य मैत्री बनाउने गरी कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले बताउनु भयो ।विश्व बैकको टोलीले बनेपा नगरपालिकामा भइरहेका स्वास्थ्यका कार्यहरूको पनि अवलोकन गरेको थियो ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती लगायतले टोलीले बनेपामा भएको स्वास्थ्य शाखाले गरेका गतिविधिहरू, खोपको प्रगति र कोभिड महामारी नियन्त्रणमा भएका प्रयासका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्