मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाडौं गोकर्णेश्वर र ललितपुरको सानेपाबाट चोरीका दुईवटा मोटरसाइकलसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर घर भई चावहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने १८ वर्षीय समीर तामाङ छन्।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरी बा प्र-०२,०२५ प १३१८ नम्बर हालेको अवस्थामा कालो रातो रङको २२० सिसीको पल्सर मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिए।

अनुसन्धानपश्चात वास्तविक नम्बर बा प्र ०२,०२९ प ५२०९ भएको उक्त मोटरसाइकल यही पुस १४ गते भक्तपुर नीलबाराहीबाट हराएको खुलेपछि मोटरसाइकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको उनले बताए।

तामाङलाई थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी पठाइएको महाशाखाले जनाएको छ।त्यसैगरी, ललितपुरको सानेपाबाट बा९८प ७९६१ नम्बरको कालो सेतोरङको २०० सिसीको डुक मोटरसाइकलसहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

महतराले उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट भने परिवर्तन गरेका थिए।तार्केश्वरका प्रज्वल बोगटीको वास्तविक नम्बर बा९९प ४८८२ भएको उक्त मोटरसाइकल काठमाडौंस्थित भृकुटीमण्डपबाट हराएको भनी ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिएका थिए।

मोटरसाइकलसहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ।