रेलमार्गको कमसल सामग्री हटाएर पुनर्निर्माण गरिँदै

0
Shares

रौतहट, (नेस) ।

रौतहटको चन्द्रपुरमा निर्माण भइरहेको रेलमार्गमा प्रयोग भएको कमसल सामग्री हटाएर पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको छ । रेल मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाले निर्माण भइरहेको रेलमार्गमा प्रयोग भएको कमसल सामग्री हटाउन निर्देशन दिएसँगै निर्माण कम्पनीले सो सामग्री हटाएको हो ।

कमसल सामग्री प्रयोग भएको विषयमा नेपाल समाचारपत्रमा समाचार प्रकाशन भएपछि सो निर्देशन दिइएको थियो । लामा गोल्डनगुड बिरुवा जेभीले रौतहटको चन्द्रपुर नगरपालिका–८ को सन्तपुरस्थित राजमार्गको दायाँ–बायाँ रेलमार्ग निर्माणको जिम्मा लिएको हो । रेलमार्ग निर्माण गर्दा मिक्स ग्य्राबेल र माटो राखेर १५ सेन्टिमिटरको स्तरमा रोलिङ गर्नुपर्ने लागत इस्टिमेटमा रहेको छ । रेल मेट्रोरेल तथा मोनोरेल विकास आयोजना साइटका सबइन्जिनियर श्याम श्रेष्ठले रेलमार्ग निर्माण कार्यमा लागत इस्टिमेट अनुरूपको कार्य गराउन आफूहरु लागिपरेको बताउनुभयो ।

सो क्षेत्रमा निर्माण कम्पनीले रेलवेको माटो पुर्ने काम, ब्यांकेटिङ, लिक निर्माण, पर्खाल तथा कलभर्ट निर्माणकार्य गरिरहेको छ ।