जनशक्ति अभावमा भेन्टिलेटरसहितको आईसीयू थन्कियो

0
Shares

बैतडी ।

जनशक्ति अभावमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा आउन नसकेको हो ।

दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताउनुभयो । ‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको छ । भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट र फिजिसियन विशेषज्ञ चिकित्सको अभाव छ ।’ –उहाँले भन्नुभयो ।

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको अस्पतालका प्रमुख डा. जोशीको भनाइ छ । आईसीयू सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा नहुँदा आईसीयू सञ्चालनमा समस्या छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्षको मंसिरमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई शैय्याको आईसीयू कक्ष स्थापना भएको थियो ।

अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा महामारीमा पनि प्रयोगमा आउन नसकेको जिल्ला अस्पतालका सूचना अधिकारी हरीशप्रसाद पन्तले बताउनुभयो । ‘जडानपछि त्यस्तै थन्किएको छ ।’ –उहाँले भन्नुभयो । श्वास–प्रश्वासमा समस्या भएका जटिल संक्रमितलाई डडेल्धुरा तथा कैलाली रिफर गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोनै मृत्यु हुने गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहितको आईसीयू कक्ष राख्ने निर्णयअनुरूप उक्त आईसीयू बेड ल्याइएको थियो । बैतडीमा कोरोना संक्रमणका कारण हालसम्म १९ ज्यान गुमाएका छन् ।