राप्रपा उपाध्यक्षमा गुरुङ

0
Shares

लमजुङ, (नेस) ।

लमजुङका नेता हेमजङ गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय उपाध्यक्षमा मनोनित हुनुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलले मंसिरमा भएको एकता महाधिवेशनपछि जारी मनोनयन प्रक्रियालाई अन्तिम रूप दिँदै उहाँलाई मनोनित गर्नुभएको हो ।

गुरुङ लमजुङको मस्र्याङ्दी–१ घनपोखरावासी हुनुहुन्छ । अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्षमा गुरुङसहित सुर्खेतका मुकुन्दश्याम गिरीलाई पनि मनोनित गर्नुभएको छ । प्रादेशिक संरचना शुरू भएसँगै राप्रपा गण्डकीको संस्थापक अध्यक्ष समेत रहनुभएका नेता गुरुङ लामो समयदेखि राप्रपामा रहेर सक्रिय राजनीति गर्दै आउनुभएको छ । २०५१ सालदेखि राजनीतिमा सक्रिय हुनुभएका नेता गुरुङ यसअघि राप्रपा केन्द्रीय सदस्य हुँदै सहमहामन्त्री, सहायक महामन्त्री हुनुभएको थियो । पार्टीको विधानअनुसार महामन्त्रीको जिम्मेबारीमा रहेको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेबारी नेता गुरुङले सहायक महामन्त्री हुँदा नै सम्हाल्नुभएको थियो ।

इन्जिनियरिङ अध्ययन गर्नुभएका नेता गुरुङ राजनीतिमा सक्रिय हुनुपूर्व तत्कालीन सरकारको स्वामित्वमा रहेको बुटवल पावर कम्पनी सञ्चालक समितिको सदस्य रहनुभएको थियो । नेता गुरुङ २०६१ देखि ६२ सम्म नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सदस्य पनि बन्नुभएको थियो ।

राप्रपा युवा संगठनको जिल्ला नेतृत्वबाट सक्रिय राजनीतिमा लाग्नुभएका नेता गुरुङ पार्टीको जिल्ला सदस्य, जिल्ला सचिव हुँदै २०५४ देखि ६३ सम्म दुई कार्यकाल राप्रपा लमजुङको नेतृत्व गर्नुभएको थियो । राजनीति सँगै बेंसीशहर नगर विकास समितिको संस्थापक अध्यक्ष र बेंसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षसमेत हुनुभएका नेता गुरुङ २०६० देखि ६१ सम्म तत्कालीन जिल्ला विकास समितिको सभापति पनि बन्नुभएको थियो ।